सत्तारुढ दल नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई संयमता अपनाउन अनुरोध गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले बालेनलाई संयमता नगमाउन अनुरोध गरेका हुन् । मेयर साहले सोमबार न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा असहयोग गरेको गुनासोसहित एमाले अध्यक्ष केपी ओलीप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका थिए ।
उनले लेखेका थिए, ‘१० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।’
सो स्टाटसपछि आज संसदमा एमाले सांसद भट्टराईले बालेनलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।
‘उहाँले निर्वाचन चितेर आउनेबित्तिकै तबेला उपहार दिनुभएको थियो । तबेला किन उपहार दिनुभयो । किन ड्रमबजाउने उपहार दिनुभएन । बोलेन्द्र साहले संगीतको ड्रम बजाएर नै आउनु भएको थियो । तर, अध्यक्षले सोच विचार गरेर तबेला दिनुभयो । मेयरलाई तबेलाको धुनमा काम गर्नुस् । तबेलाको अर्थ हो । करुणा, प्रेम, सद्भाव र संयमता हो । तर, काठमाडौं महानगरपालिका प्रमुखले संयमता गुमाउँदै जानु भएको छ,’ भट्टराईले भने ।
उनले काठमाडौंलाई सुधार गर्नका लागि मेयरलाई सहयोग गर्न तयार रहेको बताए ।
‘पछिल्लो दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ । ती युवाहरूमाथिको सपनालाई र मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यो हिसाबले अगाडि नबढ्न आग्रह गर्दछु,’ सचिव भट्टराईले भने । भट्टराईले एमाले र एमालेको नेतृत्वमाथि उठेको हरेक प्रश्नमा आफूहरू छानबिन गर्न तयार भएको पनि बताए ।
‘एमालेमाथि जुन प्रश्न उठिरहेका छन् । एमाले हरेक कुराको छानबिनको निम्ति तयार छ । कुनै बेला वाइडबडीमा चर्कोचर्को कुरा उठाइयो । आज त्यो किन उठ्दैन ? किनभने त्यहाँ एमालेको कोही संलग्न छैन । कोको संलग्न छन् वाइडबडीमा ? प्रष्ट देखिएको छ त्यसपछि त्यसको च्याप्टर क्लोज भयो । भुटानी शरणार्थीमा सेटिङ गरेर आफ्ना पदाधिकारीलाई छुटाउन एमाले गएको छैन। हामीले कानून अनुसार अनुसन्धान गर्न सहयोग गर्नुस् भनेका छौँ,’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।