logo-img

नेपाली टिमको जर्सीका साथ संसदमा रास्वपाका सांसद,  के दिन खोजेका हुन् सन्देश ?

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नेपाली क्रिकेट टिमको जर्सीका साथ प्रतिनिधि सभामा पुगे । उनीहरूको यो प्रयोग संसदीय इतिहासमै पहिलो थियो र नौलो थियो । राजनीति नै हो सबैको अगुवाइ गर्ने विधा र नीति-निर्माता ।

लोकप्रिय हुँदै गएको क्रिकेटमा प्रगति गरिरहेको नेपाल र यहाँका खेलाडीलाई प्रोत्साहित गर्दा पक्कै पनि उनीहरूको आत्मविश्वास बढ्नेछ । विश्वले  नै नियालिरहेको प्रतिस्पर्धामा नेपालको प्रदर्शनले छाप छोड्न सक्दछ । यो एउटा प्रतिस्पर्धाको प्रसंग हो । 

अर्को सम्भावनाको पक्ष के हो भने रास्वपाका सांसदको नौलो शैलीको ऐक्यबद्धताले देशको चौथो ठूलो राजनीतिक संगठनको उदीयमान खेलप्रतिको प्रतिवद्धता पनि प्रकट भएको छ । यो सकारात्मक पक्ष हो । यसपछि दलहरूले मिलेर खेल क्षेत्रमा विद्यमान विकृति विसंगति र समस्याको समाधान गर्ने बारेमा राष्ट्रिय सहमतिको वातावरण बनाएर समय सुहाउँदो खेल नीति निर्माण गर्नुपर्छ । 

खेलकुदको क्षेत्रमा आफू पनि हस्तक्षेप नगर्ने र अरू दललाई पनि त्यसका लागि वचनबद्ध गर्ने गरी नीति निर्माणमा सहकार्य गर्नुपर्छ । अझ महत्वपूर्ण कुरा के हो भने खेलकुद क्षेत्रलाई देशको उच्च प्राथमिकताको सूचीमा राखेर नीति निर्माण र बजेट विनियोजन गर्नुपर्छ ।

संसदको अधिवेशन चलिरहेका बेला रास्वपाले नौलो सन्देश दिएर यस्ता अत्यावश्यक कार्य गर्ने संकेत पनि दिएको हुनुपर्छ । यही नै उसको उद्देश्य हो भने यो देशका लागि र सिंगो खेलकुद क्षेत्रका लागि खुसीको विषय हो । 

रास्वपाले सुरु गरेको यो सकारात्मक प्रयासमा पक्ष प्रतिपक्ष नभनी सबै दलहरूले समर्थन र ऐक्यबद्धता प्रदर्शन गर्दा कैयौं निराशाजनक घटनाले खिन्न भएको नेपाली समाजमा पनि सकारात्मक सन्देश प्रवाह गर्नेछ । अनेकौं असहमतिका बीच पनि यस्ता अवसरमा राष्ट्रिय चिन्तन र व्यवहार प्रदर्शन गर्दा कसैलाई पनि नोक्सान हुँदैन, कसैको कद होचो पनि हुँदैन । देशकै हितमा सुखद सन्देश प्रवाह हुनेछ ।



हुनसक्छ, रास्वपाले आफ्नो नेतृत्व चर्को विवादमा परिरहेका बेला नयाँ प्रयोग गरेर जनतामाझ छवि सुधार्न प्रयास गरेको होला । यो उसको रणनीतिक चाल पनि हुनसक्ला । त्यस्तै हो भने पनि हुन दिनुपर्छ । तर, प्रकटमा उसले जुन शैलीको प्रदर्शन गरेको छ, त्यो भने अनुकरणीय नै छ, मान्नुपर्छ । 



पछिल्लो निर्वाचनदेखि नै सत्ता गठबन्धन बनाउने, बदल्ने र फेरि त्यसकै लागि सम्पूर्ण राजनीतिक शक्ति खर्च गर्ने प्रवृत्तिको विकास भइरहेको छ । संसदले सहज यात्रा गर्न नपाइरहेको र जनताका जल्दाबल्दा स्वार्थहरूको सम्वोधन हुन नपाएर असन्तुष्टि चुलिँदै गइरहेको अवस्था छ । 

सत्ताकेन्द्रित चलखेल र आर्थिक अपचलनका कैयौं विषयमा शीर्ष तहका नेता र सरकारका पदाधिकारीहरु नै मुछिएका घटनाले राजनीतिको छवि नै धूमिल भइरहेको छ । दलहरूबीचको निम्नकोटीको आरोप प्रत्यारोप र मर्यादाहीन आलोचनाले पद्धतिमाथि नै प्रश्न  उठाउने आधार दिइरहेको छ । तसर्थ, यस्तो परिस्थितिमा स–साना कुराहरूमा सकारात्मक सन्देश प्रवाह गर्न प्रमुख दलहरूले चित्त फराकिलो पार्नुपर्छ । अनि मात्र ठूला–ठूला मुद्दा पनि राष्ट्रिय सहमति जुटाउन मद्दत पुग्नेछ ।

सांसद टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएर बैठकमा सहभागी भएको दृश्यले धेरैको मनमा एक किसिमको नयाँ तरंग फैलाएको  पाइएको छ ।

१० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग आज राति प्रतिस्पर्धा गर्दैछ । समूह ‘डी’ अन्तर्गत हुने यो खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ ।  

  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया