logo-img

एस्ट्राजेनेका र कोभिसिल्ड खाेप लगाएका मानिसमा हृदय तथा मस्तिष्काघातकाे जाेखिम !
रगत जम्ने र प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीकाे स्वीकाराेक्ति

सन् २०१९ डिसेम्बरमा चीनको वुहान सहरमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलियो । कोरोना महामारी, आइसियू लकडाउन, क्वारेन्टाइन, अक्सिजनको अभाव, पिसिआर परीक्षण, संक्रमण, मुत्यु, खोप । करिब दुई वर्षसम्म विश्वभर नै यिनै शब्दहरू दोहोरिइरहन्थे । पूरै मानवजगतलाई हायलकायल पार्ने गरी कोरोना संक्रमण विश्वभर फैलिएको थियो ।

एक समय पूरै विश्वले लकडाउनको सामना गर्यो । कोरोना महामारीबाट विश्वलाई बाहिर ल्याउने एक मात्र अस्त्र थियो, कोरोनाविरुद्धको खोप । एक अध्ययनका अनुसार कोरोनाविरुद्धको खोपले विश्वभर करिब १४ करोड मानिसको ज्यान जोगाएको छ । तर, यो खोप लगाएका करोडौँ जनसंख्यामध्ये केहीमा समस्या नदेखिएको भने होइन । यद्यपि, अहिले उक्त खोपले पार्ने नकारात्मक असरबारे व्यापक चर्चा सुरु भएको छ । 

कोरोना महामारीका बेला धेरैले एस्ट्राजेनेका र कोभिसिल्डको खोप लगाए । त्यसले मानिसको ज्यान जोगायो पनि । तर, पछिल्लो समय यी खोपले स्वास्थ्यमा समस्या देखिएको तथ्य सार्वजनिक भएको छ ।

के भन्छ एस्ट्राजेनेका ?

एस्ट्राजेनेकाको कोभिड–१९ विरुद्धको खोपले केही मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ ।
भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपले केही मानिसलाई ‘साइड इफेक्ट’ हुन सक्ने कागजी रूपमा पहिलोपटक स्वीकार गरेको छ । 

एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले दर्जनौँ घटनामा मृत्यु र गम्भीर असर गरेको भन्दै कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा सन् २०२३ मा मुद्दा परेको थियो । एस्ट्राजेनेका विरुद्ध ५१ वटा मुद्दा परेका छन् भने १० करोड पाउन्डसम्मको क्षतिपूर्ति माग गरिएको छ ।



सोही मुद्दाको सुनुवाइमा एस्ट्राजेनेकाले उक्त खोपले केही मानिसलाई ‘साइड इफेक्ट’ हुन सक्ने भनी कागजातमा पहिलोपटक स्विकारेको हो । कम्पनीले अदालतमा पेस गरेको कागजातमा खोपले रगत जम्ने दुर्लभ किसिमको जोखिम बढाउन सक्ने उल्लेख गरेको बेलायती सञ्चारमाध्यम ‘द टेलिग्राफ’ले जनाएको छ । 

यो खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका थिए । यही खोपले रगत जमाउने र त्यसले हृदयाघात र मस्तिष्काघात गराउने दाबी गर्दै सन् २०२३ मा मुद्दा दायर गरिए पनि एस्ट्राजेनेकाले त्रुटि स्वीकार गरेको थिएन । गत फ्रेबुअरीमा अदालतमा पेस गरिएको कागजमा खोपका कारण थ्रोम्बोसिस विथ थ्रोम्बोसाइटोपिनिया (टिटिएस) सिन्ड्रोम हुन सक्ने उसले स्विकारेको हो । 



टिटिएस भनेको रगत जम्ने र रगतमा प्लेटलेट्स कम हुने समस्या हो । चिकित्सकहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अंग मुटु र मस्तिष्कमा असर गर्छ । यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्काघात हुने सम्भावना हुन्छ ।

विश्वबजारबाट खोप फिर्ता 

औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारबाट ३ अर्बभन्दा बढी डोज कोरोनाविरुद्धको खोप फिर्ता लिने भएको छ । एस्ट्राजेनेकाले नोभेम्बर २०२० मा कोभिडविरुद्धको खोप ल्याएको थियो । जुन अरूभन्दा सस्तो र भण्डारण गर्न सहज थियो । अधिकांश अध्ययनले एस्ट्राजेनेकासहितका कम्पनीको कोरोनाविरुद्धको खोपले विश्वभरका करोडौँ मानिसको ज्यान बचाएको देखाएको थियो । केबल एस्ट्राजेनेकाले पहिलो वर्ष मात्र ६० हजारभन्दा बढी मानिसको ज्यान बचाएको थियो ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब १० लाख मानिसमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने १२ हजार २० जनाको मृत्यु भएको छ । कोरोनाको महामारीबाट पार पाउनका लागि नेपालको कुल जनसंख्याको करिब ७० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धका विभिन्न खोप लगाए । नेपालमा सबैभन्दा अघि र सबैभन्दा धेरै लगाइएको खोपमध्ये एस्ट्राजेनेकाको कोभिसिल्ड एक हो । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार नेपालमा करिब ३१ लाख डोज कोभिसिल्ड खोप भित्रिएको थियो । पहिलो, दोस्रो र तेस्रो डोज गरेर यो करिब १३ लाख मानिसलाई दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

एस्ट्राजेनेकाको खोपसँगै नेपालमा धेरै मात्रामा लगाइएको अर्को खोप चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल हो । यससँगै नेपालमा केही लाख मात्रा अमेरिकी खोप मोर्डना, जोनसन एन्ड जोनसन र फाइजर पनि भित्रिए ।

कति जोखिम ? 

कोरोना महामारीबाट उन्मुक्ति दिएको कोरोनाविरुद्धको खोपबारे चर्चा परिचर्चा भइरहँदा अधिकांश मानिसमा शंका उब्जिएको छ । नेपालमा पनि धेरैजसोले एस्ट्राजेनेका र कोभिसिल्ड खोप लगाएकाले धेरैले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरलाई चासो र चिन्तासहित नियालिरहेका छन् । 

हाल विश्वमा मुख्य गरेर एस्ट्राजेनेका, फाइजर र मोर्डना खोप लगाएकाहरूमा देखिने गरेका गम्भीर असरलाई लिएर ठूलै खैलाबैला भइरहेको छ । तर, के अहिले विभिन्न समाचार स्रोतहरूले दाबी गरेझैँ कोरोनाविरुद्धको खोप लगाएका सबैमा नकारात्मक स्वास्थ्य समस्या देखिन्छ त ?

खोप लगाएका सबैमा यही समस्या देखिन्छ भन्नेचाहिँ नभएको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनका अनुसार यो खोप सार्वजनिक रूपमा लगाउन सुरु गर्नुअगावै नै दुर्लभ नकारात्मक प्रभावका बारेमा बताइएको दाबी गरिएको थियो ।

उनको विचारमा कोभिडविरुद्धको खोपको विकास द्रुत गतिमा भएकै कारणले धेरैको ज्यान जोगिएको थियो । ‘नेपालीले अधिकांश अन्य अल्पविकसित देशका नागरिकले भन्दा चाँडो त्यो खोप पाएका थियौँ र दसौँ हजारको ज्यान जोगियो,’ उनले लेखेका छन्, ‘खेदको कुरा, आजका पत्रपत्रिकाका समाचारमा यो बिग पिक्चर आएन र मान्छेहरू पछाडि फर्केर नचाहिने कुराका बारेमा मुर्मुरिँदै छन् ।’

त्यसैगरी संक्रामण रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि कोरोनाविरूद्धको खोपले धेरै जनाको ज्यान बचाएको बताउँछन् । उनका अनुसार जुनसुकै खोपको पनि साइड इफेक्ट हुन्छ । एस्ट्राजेनेकाको एउटा साइड इफेक्ट भनेको रगत जम्नु हो । तर, रगत जम्ने समस्या कोरोनाविरूद्धको खोप लगाएको दाजोमा नलगाउँदा धेरै हुन्छ । 

‘कोरोना संक्रमणले रगत जम्ने समस्या खोप लगाएको दाँजोमा धेरै हुन्छ । कोरोनाविरूद्धको खोपलले धेरै ज्यान बचाएको छ,’ उनी भन्छन्, ‘कोरोनाविरूद्धको खोप नलगाएको भए विभिन्न स्वास्थ्य समस्या देखिन्थे । कोरोनाविरूद्धको खोपले बेफाइदाभन्दा फाइदा धेरै गरेको छ ।’

उनका अनुसार नेपालमा कोरोनाविरूद्धको खोप लगाएपछि देखिएको साइड इफेक्टबारे अध्ययन नभएका एकिन कतिलाई खोपले साइड इफेक्ट गर्यो भनेर भन्न गाह्रो छ । खोपको साइड इफेक्ट देखिहाले पनि खोप लगाएको एक वा डेढ महिनाभित्र देखिन्छ । हामीले खोप लगाएको धेरै समय भइसकेको छ । त्यसैले हामीले आत्तिनु पर्ने कुनै कारण नरहेको उनको भनाइ छ । यसका साथै उनले कोरोना महाकारीको बेला कोरोनाविरूद्धको खोप लगाउने निर्णय एकदम जाहेज रहेको र त्यसले संक्रमणको जोखिमबाट हामी सबैलाई बचाएको बताए ।

यस्तै, मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी खोपले केही मात्र नकारात्मक असर देखिएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘यो खोप ल्याउँदा हामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई प्रभावकारिता अध्ययन गर्न भनेका थियौँ । परिषद्ले प्रभावकारिता राम्रो छ भनेपछि ल्याएका हौँ,’ डा. बुढाथोकी भन्छन् । 

नेपालमा कोभिसिल्ड खोपको गलत प्रभावबारे रिपोर्ट भएको छैन । हृदयाघात र मस्तिष्काघातजस्ता घटना हुँदा कारण खोज्नतिर नलागेर पनि रिपोर्ट नभएको हुन सक्ने एक चिकित्सक बताउँछन् । यस्तै, एस्ट्राजेनेकाको खोपमा कैफियत रहेको समाचार आएपछि यस विषयको अनुसन्धान कसरी अगाडि बढाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको प्रवक्ता डा. बुढाथोकीको दाबी छ । 

  • प्रकाशित मिति : जेठ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया