logo-img

विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध कहाँ-कहाँ चुक्यो नेपाल ?

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा नेपालले हारबाट सुरु सुरुवात गरेको छ । गएराति सम्पन्न पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६ विकेटको पराजय बेहोर्दै नेपालले खराब सुरुवात गरेको हो ।

१० वर्षपछि विश्वकप खेल्न लागेको नेपालले पहिलो खेलमा ब्याटिङ र फिल्डिङमा साधारण प्रदर्शन गर्‍यो । नेपाली फिल्डरले पटक–पटक क्याच छोड्दाको फाइदा डच टिमले उठायो ।

नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसलाई अन्तिम ३ ओभरमा जितका लागि १९ रनको खाँचो थियो ।

कसिलो बलिङ गरिरहेका नेपाली बलरविरुद्ध डच ब्याटरलाई गाह्रो भइरहेको थियो । त्यहीबीच १८औँ ओभरमा सोमपाल कामीले म्याक्स ओ’डाउडलाई आउट गर्ने अवसर सिर्जन गरे । तर, कप्तान रोहितकुमार पौडेलले क्याच ड्रप गर्दा नेपाल खेलमा फर्किन सकेन ।

ओपनर ओ’डाउडले ४८ बलमा चार चौका र एक छक्कासहित अविजित ५४ रनको पारी खेले । उनी अन्तिमसम्म टिक्नु पनि नेपाल हारको करण बन्न पुग्यो । यस्तै, आठौँ ओभरमा अविनाश बोहराले विक्रमजित सिंहलाई क्याच आउट गर्ने मौका दिए । तर, सोमपाल कामीले ड्रप गर्दा नेदरल्याण्ड्सलाई थप दबाबमा राख्न सकेन । 



नेदरल्याण्ड्सको जितमा म्याक्स ओ’डाउडले ५४ सहित विक्रमजित सिंहले २२, साइब्रान्ड एंगेलब्रेचले १४ र बास डे लिडेले अविजित ११ रन बनाए । नेपालका लागि अविनाश बोहरा, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।  



त्यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, करण केसीले १७, गुलशन कुमार झाले १४ र अनिलकुमार साहले ११ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले तीन/तीन तथा भ्यान मेकरम र बास डे लिडेले दुई/दुई विकेट लिए । नेपालले अब समूह ‘डी’ मा मा आफ्नो दोस्रो खेल १२ जुनमा श्रीलंकासँग खेल्ने तालिका छ ।    

  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया