logo-img

मुख्यमन्त्री यादव पाँचौँ पटक विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार १८ महिनामा  पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन् । 

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।  

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले बताए ।  





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया