logo-img

सरकारसँग सांसद खानको माग : तराई-मधेशमा शान्ति सुरक्षाको वातावरण मजबुत बनाउनुपर्‍यो
फाइल तस्बिर

जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरे । 

‘तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन् । शान्ति सुरक्षाको वातावरण खस्किएको छ । लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ’, सांसद खानले भने ।

उनका अनुसार सुनसरीको कोशी गाउँपालिका–३ का बसिरन खातुनलाई हालै दाइजोको निहुँमा हत्या गरी सप्तरीको हनुमाननगरस्थित कोशी नदी किनारमा पिपलको रुखमा झुन्ड्याएको अवस्थामा शव फेला परेको थियो । विभिन्न दबाबका कारण जाहेरीसमेत दर्ता नभएको उनको भनाइ छ ।

‘रूपन्देहीको गैडहवा गाउँपालिका–१ का तिरु यादव र रामकुमार यादव दुवै दाजुभाइलाई यही जेठ २२ गते स्थानीय पानको पसलमा छुरा प्रहार गरिएको थियो । एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ’, सांसद खानले भने । 

त्यस्तै, यही १२ जेठमा बर्दियाको बढैयाताल गाउँपालिका–३ स्थित गोब्रेपुर गाउँपालिकाका ३० वर्षीया तारा खटिकलाई कुटपिट गरेपछि निजले राति झुन्डिएर आत्महत्या गरेको घटनाबारे इलाका प्रहरीले जाहेरी लिनसमेत नमानेको भन्दै यस्ता घटना दिनप्रतिदिन बढिरहेकाले सरकारले शान्ति सुरक्षाको वातावरण सिर्जना गरी नागरिकको जीवन रक्षा गर्नुपर्ने माग सांसद खानले संसद्समक्ष गरे । 





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया