logo-img

सुशासन समितिमा छलफल- ‘कानुन संशोधन गरौँ, सिंहदरबारका थोत्रा गाडी हटाऔँ’

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले सार्वजनिक खरिद ऐन संशोधन गर्न नसक्दा सिंहदरबार पुराना गाडीहरूले विरूप पारेको बताएकी छन् ।

सिंहदरबारमा बुधबारको समिति बैठकमा बोल्दै सभापति पन्तले सिंहदरबार परिसरका पुराना गाडीहरू पन्छाउन कानुन बाधक रहेको उल्लेख गर्दै सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताइन् ।
 
उनले भनिन्, ‘सिंहदरबार पुराना गाडीहरूले राम्रैसँग रंगाइदिएको छ । यो चाहिँ निकालिदिनुस् बरु नराम्रै ठाउँमा सिंहदरबार बस्छ भनेर कति भन्यौँ तैपनि कानुनले अड्काइरहेको छ । हाम्रो अध्यक्षले नै सधैँ भन्नुहुन्छ यो सार्वजनिक खरिद ऐनलाई के गर्ने होला ? यसले गर्दा सारै नराम्रो भइरहेको छ । सार्वजनिक खरिद ऐनको संशोधन पनि सरकारले ल्याउनुपर्‍यो नि । हामी समितिले त्यसै ल्याएर त भएन । यो कुरा कहाँनिर अड्किएको छ यहाँहरूलाई थाहा छ । फुकाउन सकिन्छ भने सबै मिलेर यो समस्या फुकाऊँ ।’ 

सुशासन प्रवर्धन एवं भ्रष्टाचार निवारण सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारबाहीका बारेमा भएको छलफलका क्रममा बोल्दै सभापति पन्तले सतर्कता केन्द्रमा हप्तैपिच्छे सचिव सरुवा गर्ने परिपाटीले प्रभावकारी काम हुन नसकेको बताइन् । 

सचिवहरू हप्तैपिच्छे सरुवामा पर्नु उचित नभएको उनले उल्लेख गरिन् । राम्रोसँग काम गरे सचिवहरूलाई समितिको सधैँ साथ रहने उनले बताइन् । 

उनले अघि भनिन्, ‘सम्बन्धित निकायहरूमा हप्तैपिच्छे सरुवा हुने सचिवहरू राम्रो क्याटेगोरीमा पर्छन् । मेरो विचारमा रिझाउन नसकेर सरुवा भएका त हुन् नि । रिझाउन केले सकिन्छ त्यो त थाहा छँदै छ । सतकर्ता केन्द्र पनि फालिएको सचिव जाने ठाउँ हो । हामीले पनि बुझेका छौँ समस्याहरू । यो कुरा जान्दाजान्दै पनि तपाईँहरू जिम्मेवारीपूर्वक काम गरिदिनुस् । तपाईँको जागिर कसैले खान सक्दैन, सर्वोच्चले पुनर्बहाली गरिहाल्छ । निर्धक्कसँग काम गर्न सक्नुभयो भने हामी साथ दिन तयार छौँ ।’ 





  • प्रकाशित मिति : जेठ २३, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया