logo-img

विश्वकपमा युगान्डाको पहिलो जित, पिएनजी तीन विकेटले स्तब्ध

पहिलोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट खेलिरहेको युगान्डाले पपुवा न्यूगिनी (पिएनजी) लाई हराएको छ । आज बिहान सम्पन्न खेलमा युगान्डाले पिएनजीलाई ३ विकेटले हराएको हो ।

विश्वकपमा ऐतिहासिक जित निकाल्नेक्रममा पिएनजीले दिएको ७८ रनको सामान्य लक्ष्य युगान्डाले ‍१८.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि पाकिस्तानी मूलका रियाजत अली शाहले ५६ बलमा एक चौकासहित सर्वाधिक ३३ रनको पारी खेले ।

यस्तै, जुमा मियागीले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । युगान्डाले अतिरिक्तबाट १५ रन पायो । ​पिएनजीका लागि अलि नाओ र नोर्मन भानुआले दुई/दुई तथा असद भाला र चाड सोपरले एक/एक विकेट लिए ।

त्यसअघि क्यारेबियन देश गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पिएनजी १९.१ ओभरमा ७७ रनमै अलआउट भयो । उसका लागि हिरी हिरीले १५, किप्लिन डोरिगा र लिगा सियाकले १२/१२ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । युगान्डाका लागि अल्पेश रामजानी, जुमा मियागी, फ्रान्क सुबुगा र कसमस केउटाले दुई/दुई विकेट लिए । 

जारी विश्वकपमा समूह ‘सी’ मा रहेको पिएनजी र युगान्डाले पहिलो खेलमा हार बेहोरेका थिए । पिएनजीले पहिलो खेलमा वेस्ट इण्डिज तथा युगान्डाले अफगानिस्तानसँग हार बेहोरेका हुन् । 



जारी विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल ३० जेठमा श्रीलंकासँग खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको थियो । 



  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया