logo-img

उपाधि दाबेदार अस्ट्रेलियाको विजयी सुरुवात, ओमानको लगातार दोस्रो हार

उपाधि दाबेदार अस्ट्रेलियाले अमेरिका र वेस्ट इण्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न खेलमा ओमानलाई ३९ रनले हराउँदै समूह ‘बी’ मा रहेको अस्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

यही समूहको ओमानले भने लगातार दोस्रो हार बेहोर्‍यो । ऊ पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

उसका लागि अयान खानले ३६, मेहरान खानले २७, अबि इलियासले १८ र शकील अहमदले ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन, मिचेल स्टार्क, एडम जाम्पा र नाथन एलिसले दुई/दुई विकेट लिए ।

त्यसअघि बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा टस हारेर ब्याटिङको मौका पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनायो ।उसका लागि मार्कस स्टोइनिस र डेविड वार्नरले अर्धशतकीय पारी खेले ।



३५ बलको सामना गरेका स्टोइनिसले ६ छक्का र २ चौकासहित अविजित ६६ रन बनाए । यस्तै, वार्नरले ५१ बलमा ६ चौका र एक छक्कासहित ५६ रनको इनिङ खेले ।

योसँगै उनी टी–२० आईमा सर्वाधिक रन बनाउने अस्ट्रेलियन ब्याटर बनेका छन् । वार्नरले हालसम्म १०४ खेलमा २७ अर्धशतक र एक शतकको मद्दतमा ३ हजार १ सय ५५ रन बनाएका छन् ।



यसअघि यो ढाँचामा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने रेकर्ड पूर्वकप्तान आरोन फिन्चको नाममा थियो । यस्तै, ओमानविरुद्ध कप्तान मिचेल मार्शले १४, ट्रभिस हेडले १२ र टिम डेविडले १० रन जोडे ।

ओमानका लागि मेहरान खानले दुई, बिलाल खान र कलिमुल्लाहले एक/एक विकेट लिए । जारी विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले दोस्रो खेल ३० जेठमा श्रीलंकासँग खेल्ने तालिका छ । 

  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया