logo-img

संघीय गठबन्धनबाट दोहोरो फाइदा उठाउँदै जनमत पार्टी, मधेस सरकारको नेतृत्वमा पुग्दै

जनमत पार्टीका सतिशकुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । जनमत पार्टीले सिंहलाई मुख्यमन्त्री पदमा अघि सार्ने निर्णय गरिसकेको छ ।

जनमत पार्टी कुनै बेला ‘विखण्डनवादी गतिविधि’मा सक्रिय देखिएका सिके राउत नेतृत्वको पार्टी हो । सप्तरीबाट उपेन्द्र यादवलाई ठूलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य चुनिएका राउतले मधेस प्रदेशको राजनीतिमा नेतृत्व गर्ने अवसर पाएका छन् ।

संघीय सरकारको गठबन्धनमा सदस्य रहेको जनमतले यसकै राजनीतिक लाभ स्वरूप मधेस प्रदेशको नेतृत्व गर्ने अवसर पाइरहेको हो । 

मधेस प्रदेशका मुख्यमन्त्री रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने निश्चित छ । त्यसपछि बन्ने नयाँ गठबन्धनमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जनमतले जनाएको छ । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष रहेका सतिश सिंह गत स्थानीय निर्वाचनमा गाउँपालिकामा पराजित भएका थिए । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर जनमतमा प्रवेश गरेका उनी सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य चुनिएका थिए । 

मधेसमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारूढ दलबीच सहमति भइसकेको भने यसमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गर्ने भएका छन् ।



मधेस प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । जनमतको बैठकमा यादवभन्दा पनि राजपूत समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठेपछि दलका नेता छोडेर सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि भोलि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी छन् । 



  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया