logo-img

मधेसको मुख्यमन्त्रीका लागि जनमतभित्रै विवाद, गठबन्धनभित्र पनि उत्तिकै किचलो

केन्द्रीय गठबन्धनले मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीलाई दिने सहमति गरे पनि सो पार्टी स्वयं आन्तरिक विवादमा फसेको छ । विवादकै कारण बिहीबार बिहान जनमत पार्टीको संसदीय दलका नेता परिवर्तन भए । 

अचानक संसदीय दलको नेताबाट महेश यादवलाई हटाएर सतीश सिंहलाई चयन गरेपछि विवाद झन् बल्झिएको हो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि शुक्रवार बिहान १० बजेसम्म दाबी पेस गर्न बुधबार राति आह्वान गरेकी थिइन्।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभामा विश्वासको मत लिन असफल भएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । जनमतभित्रको आन्तरिक विवाद र गठबन्धनमा रहेका अन्य दलले मन्त्रालय भागबण्डामा अड्डी लिएपछि सरकार गठनका लागि बिहीबार मुख्यमन्त्रीका लागि दाबी पेस हुन सकेको छैन । 

मधेश प्रदेशमा सरकार गठन गर्ने प्रयास गरिरहेको गठबन्धनभित्र मन्त्रालय बाँटफाँटमा पनि किचलो छ । अन्तिम समयमा गठबन्धनमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले आफूले रोजेको मन्त्रालय नपाएमा गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । 

मधेसको नयाँ गठबन्धनमा नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एस रहेका छन्। नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले पनि उक्त गठबन्धनलाई समर्थन गर्ने बताइएको छ।

मधेश प्रदेशमा कुल १०७ सदस्यीय प्रदेश सभा रहेको छ। सरकार बनाउनका लागि ५४ जना सदस्यको समर्थन चाहिन्छ। नयाँ गठबन्धनमा कुल ५५ जना प्रदेशसभा सदस्य रहेकाले आवश्यक बहुमत जुट्नेछ । तर, यसलाई सुविधाजनक बहुमत मान्न सकिँदैन । 



गठबन्धनमा सहभागी एउटा दल मात्रै बिच्किएमा गठबन्धन धरापमा पर्ने निश्चित छ । जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले मधेसमा एकछत्र रुपमा ६ वर्ष शासन गरिसकेको भन्दै ६ महिना सरकार चलाएर देखाउन नयाँ गठबन्धनलाई चुनौती दिएका छन् । 



  • प्रकाशित मिति : जेठ २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया