logo-img

मधेस सरकारको नेतृत्व गर्दै सिके राउतको जनमत पार्टी, मुख्यमन्त्रीमा सतिश सिंहको दाबी पेस

सिके राउत नेतृत्वको जनमत पार्टीको पक्षमा सरकार बनाउने सङ्ख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले आज दाबी पेस गरेका छन् । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरूको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यस पार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । 

प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरूको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने सङ्ख्या प्रस्तुत गर्दै दाबी पेस गरेका हुन् ।  

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेस गर्न समय दिएकी थिइन् ।

११ मन्त्रालय रहेको मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिना विभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरूबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

नेकपा एकीकृत समाजवादीलाई कृषि, ऊर्जा तथा सिँचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ ।

सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दाबी पेस गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको दाबी पेस गरिएको छ । 





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया