logo-img

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । जनमत पार्टीका सांसद सिंह नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो पटक मधेस प्रदेशको नेतृत्वमा पुगेको हो । आफ्नो पक्षमा सरकार बनाउने सङ्ख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सिंहले आज दाबी पेस गरेका थिए । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरूको समर्थन प्राप्त हुने निश्चित भएपछि उक्त पार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो । 

प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरूको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने सङ्ख्या प्रस्तुत गर्दै दाबी पेस गरेका हुन् ।  

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेस गर्न समय दिएकी थिइन् ।

११ मन्त्रालय रहेको मधेस प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिना विभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरूबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

नेकपा एकीकृत समाजवादीलाई कृषि, ऊर्जा तथा सिँचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ ।



सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दाबी पेस गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको दाबी पेस गरिएको छ । नयाँ मन्त्री को बन्ने भन्ने विषयमा पनि अहिले छलफल जारी छ ।  



  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया