logo-img

सतिश सिंहले लिए मुख्यमन्त्रीको शपथ, बनाए १४ सदस्यीय मन्त्रिपरिषद्

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार दिउँसो सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा शपथ लिएका थिए । 

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेस गर्न समय दिएकी थिइन् ।

जनमत पार्टीको पक्षमा सरकार बनाउने सङ्ख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सिंहले दाबी पेस गरेका थिए । 

सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् । 

यसैबीच, नवनियुक्त मुख्यमन्त्री सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । सिंहले एमालेबाट शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह, खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल र भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई नियुक्त गरेका हुन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् भने माओवादी केन्द्रबाट अर्थ मन्त्रीमा भरतप्रसाद साह र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बनेका छन् । 



नेपाल समाजवादी पार्टीकी बिमला अंशारी तरुनम गृह सञ्चार तथा कानुन मन्त्री र नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेकी छन् ।  



  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया