logo-img

पर्यटन क्षेत्रमा रहेका अतिरिक्त कर हटाउछौँ : मन्त्री तामाङ
फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार लागि परेको बताएका छन् ।

शुक्रबार नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स उजेन्ट्स (नाट्टा) को ५७औँ वार्षिक साधारणसभामा उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रका विभिन्न कर हटाउने विषयमा कुरा भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए । 

पर्यटनमन्त्री तामाङले नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधारसहित नयाँ योजना अघि बढाइएको बताए । उनले आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्नेगरी ‘इको हिल स्टेसन’ बनाउने योजना रहेको बताए ।

काठमाडौं उपत्यकासँग जोडिएको महाभारतको शृङ्खलामा सरकारले पूर्वाधार तयार पार्ने र सरकार तथा निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको उनले जानकारी दिए ।

‘हाम्रो हवाई तथा सडक यातायात सहज छैन, त्यसैले पूर्वाधार सुधार गर्नेतिर सरकारले सोचिरहेको छ । साथै, जनकपुर, पशुपति, लुम्बिनीजस्ता स्थललाई भारत, चीनजस्ता ठूलो जनसङ्ख्या भएका देशबाट पर्यटक भित्र्याउने र हाम्रो सेवालाई थप गुणस्तरीय बनाउने तथा पर्यटकको बसाइँ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ’, पर्यटनमन्त्री तामाङले भने ।

उनले पर्यटन क्षेत्रको नीतिगत र संरचनागत सुधार गरी पूर्वाधार विस्तार, गन्तव्यको खोजी र प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । ​नाट्टाका अध्यक्ष रमेश थापाले लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाउन सरोकारवाला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । रासस 





  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया