logo-img

समितिलाई मन्त्री श्रेष्ठको अनुरोध- शिक्षा विधेयकलाई प्राथमिकतामा राखिदिनू
फाइल तस्बिर

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई छलफल गर्न प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पत्र पठाएकी छन् ।

मन्त्री श्रेष्ठले विधेयक अभिभावक, शिक्षक, कर्मचारी विद्यार्थी तथा स्थानीय तहसहितको तमाम सरोकारवालासँग सम्बन्धित रहेकाले प्राथमिकतामा राखेर छलफल अगाडि बढाइदिन समितिका सभापति अम्बरबहादुर थापालाई आग्रह गरेकी हुन् ।  

विधेयक गत पाँच महिनादेखि प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा थन्किएको छ । गत २७ भदौमा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतिनिधिसभामा पेस गरेको उक्त विधेयक करिब एक महिनापछि प्रतिनिधिसभाबाट पारित भएर २५ असोजमा दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य समितिमा पठाइएको थियो । 

यो पनि : समितिमा चिच्याउने सुमना मन्त्री भएपछि सुस्तायो शिक्षा विधेयक

समितिमा पुगेको करिब साढे दुई महिनासम्म त्यत्तिकै थन्किएको विधेयकमाथि तत्कालीन शिक्षा, स्वास्थ्य समितिका सभापति भानुभक्त जोशीले ८ पुस २०८० बाट विधेयकमाथि छलफल सुरु गराएका थिए । समितिका तत्कालीन सभापति जोशीले विधेयकलाई प्राथमिकतामा राखेर छलफललाई अघि बढाए पनि अहिले भने विधेयक थन्किएको अवस्थामा छ । गत २५ चैतदेखि विधेयकमाथि एकपटक पनि छलफल भएको छैन ।

शिक्षा, स्वास्थ्य समिति सभापति जोशी गत २३ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएपछि अहिले समितिको नेतृत्व अम्मरबहादुर थापाले गरिरहेका छन् । गत ७ चैतमा सभापतिमा चयन भएका थापाले हालसम्म चारपटक मात्रै शिक्षा विधेयकमाथि छलफल गराएका छन् ।



समितिमा विधेयक थन्किएको विषयमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गर्न थालेपछि शिक्षामन्त्री श्रेष्ठले बिहीबार समितिका सभापतिलाई पत्र लेखेर विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन अनुरोध गरेकी हुन् । 



 

  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया