logo-img

बंगलादेशसँग किन बढ्दैछ नेपालको व्यापारघाटा ?
बंगलादेशसँग नेपालको व्यापार : १० महिनामा ३ अर्ब बढीको आयात, निर्यात साढे १७ करोड मात्र

नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बंगलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ  । कुनै समय ५ अर्ब रुपैयाँभन्दा बढीको मालसामान बङ्गलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ  । 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका निमित्त प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल-बङ्गलादेशबीचको व्यापार पछिल्लो एक दशकयता निरन्तर खुम्चिँदो अवस्थामा छ । आव २०७०/०७१ सम्ममा द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेकोमा हाल निर्यातको अवस्था झरेको छ । 

मेची भन्सार कार्यालय काकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालू आवको वैशाख मसान्तसम्म बङ्गलादेश  निर्यात २३ करोड ७४ लाख ३९ हजार रुपैयाँ हुँदा ३ अर्ब १७ करोड ९९ लाख रुपैयाँको सामना आयात भएको छ । उनका अनुसार आव २०७८/०७९ मा नेपालले बङ्गलादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको थियो । त्यस वर्ष आयात ११ अर्बभन्दा बढी हुँदा निर्यात भने ६३ करोडमै सीमित हुन पुगेको थियो । 

गोदाम व्यवस्था कम्पनीको तथ्याङ्कअनुसार द्विपक्षीय व्यापारको पछिल्लो २६ वर्षमा १० वर्ष नेपालबाट हुने निर्यात बङ्गलादेशबाट हुने आयातको तुलनामा बढी देखिन्छ । आव २०७१/०७२ देखि नेपालबाट निर्यात कम र बङ्गलादेशबाट आयात निरन्तर बढिरहेको छ । 

हाल दाल, जडीबुटी, मोलासिस, खाद्यपदार्थ, पशु आहाराका लागि कच्चापदार्थ, खयरकत्था, रङ्गरोगनका पदार्थ मुख्य निर्यात हुने वस्तुहरू हुन् भने जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड-एसिड ब्याट्री, कपडा, फलफूलका जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका मालवस्तु बढी आयात हुनेमा पर्छन् । 

भन्सार एजेन्ट नवीन दाहालले नेपालबाट निर्यात हुने वस्तुमा बङ्गलादेशले भन्सार महसुल धेरै लगाएको र उताबाट यहाँ आयात हुने वस्तुमा ज्यादै न्यून भन्सार महसुल दर छ । भन्सार महसुल कम गर्न सकेमा बङ्गलादेशमा उच्च माग रहेका तरकारीजन्य वस्तु र अन्य कृषिजन्य उत्पादन नेपाली व्यवसायीले निर्यात गर्न सक्ने उनको भनाइ छ ।



बङ्गलादेशमा अदुवा, अलैंची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ । नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यावसायीको भनाइ छ । बङ्गलादेशले भारतबाट निकासी हुने कतिपय उस्तै वस्तु नेपालबाट निर्यात गर्दा बढी भन्सार महसुल लिने गरेकाले निर्यात घटेको भन्सार एजेन्ट दाहालले बताउँछन् । 

द्विपक्षीय व्यापारमा यीलगायत अन्य समस्या समाधान गर्न सकेमा बङ्गलादेशमा निर्यात बढाउन सक्ने उनको भनाइ छ । नेपाल–बङ्गलादेश द्विपक्षीय व्यापार सम्झौतामा सुधार गरी निकासी गर्ने नयाँ मालवस्तु पहिचान गर्न सकेमा निर्यात बढ्ने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका निमित्त प्रमुख पाण्डेय बताउँछन् । 



‘बङ्गलादेशमा उच्च माग रहेका वस्तु पहिचान गरी नेपालबाट निकासी गर्न सकेमा धेरै लाभ उठाउन सकिन्छ’, उनले भने । नेपालको पूर्वी नाका काकरभिट्टाबाट भारत पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरी नाका बङ्गलाबन्ध हुँदै जान्छ । सुरुआतमा यो रुटबाट नेपाल-बङ्गलादेशबीच मात्रै व्यापार हुने गरेकोमा पछिल्लो समय भारत र भुटानले समेत बङ्गलादेशसँग व्यापार गरिरहेको फूलबारी भन्सारका सुपरिटेन्डेन्ट सञ्जीव कुमार बताउँछन् ।  

बङ्गलाबन्ध नाका प्रयोग गरी भुटानले दैनिक औसतमा १५० बढी टिपर ढुङ्गागिट्टी बङ्गलादेश निर्यात गरी आर्थिक लाभ लिइरहेको फूलबारी भन्सारका सुपरिटेन्डेन्ट कुमारले बताए । ‘भारतले पनि ढुङ्गा गिट्टीलगायत अन्य मालवस्तु यही नाकाबाट बङ्गलादेश  निर्यात गरिरहेको छ,’ उनले भने । रासस    

  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया