logo-img

विचार : जनतालाई सुविचारको उपहार

हामीले नेपालको पत्रकारितालाई जुन विन्दुमा पुर्याउनुपर्ने थियो नेपाली समाजको परिवर्तनका लागि, त्यो काम गर्न सकेका छैनौँ । नेपालमा किन वाल्टर लिपम्यान र नोम चोम्स्की जन्मिएनन् जस्तो लाग्छ कहिलेकाहीँ । लिपम्यान र चोम्स्की जस्ता विश्लेषक किन देखा पर्न सकेनन् जस्तो लाग्छ कहिलेकाहीँ ।

अमेरिकनलाई मात्र सम्झियो भन्नुहोला । तर, त्यसो होइन । भारतका खुशवन्त सिंह, दिलिप पदगाँवकर, कुलदीप नायरजस्ता विचारक–पत्रकार किन जन्मिएनन् जस्तो लाग्छ कहिलेकाहीँ । साहु जैन र रामनाथ गोयन्काजस्ता व्यक्तित्व किन व्यवसायमा आउँदैनन् ? नेपालका सञ्चार व्यवसायी किन सधैं विवादमा आउँछन् ? प्रश्नहरू मनमा खेल्न थाल्छन् अनगिन्ती !

संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि नेपाली पत्रकारिता व्यावसायिक भएको छ । यो सही कुरा हो । पत्रकारिता व्यवसायले नाफा कमाउनु पर्छ, त्यो पनि सही कुरा हो । नाफा नकमाए पत्रकार तथा संस्थाका कर्मचारीलाई कसरी तलब र सुविधा दिने ? तर, पत्रकारिताले आफ्नो देश, सबै नेपाली भाषा र नेपालका जनताप्रति सम्मान जगाउनसक्नुपर्छ । यो मुख्य कुरा हो । 

कामको खोजीमा खाडीलगायत अन्य देशमा भौतारिनु परेको छ । यसलाई हामी हाम्रो योग्यता भनौं ? यत्रो हराभरा वातावरण भएको, विशाल नदीहरूले घेरिएको समृद्ध देशमा हामी नेपाली जनता किन चरम गरिबीमा बाँचिरहेका छौँ ? किन गरिबीको पनि पिँधमा बाँच्न बाध्य छौँ हामी ? यो कुरालाई सोच्नुपर्छ । 

आजको समाज विश्रृखंल छ । बुद्धिजीवीसँग र अरू साथीहरूसँग साँझपख कफी खाँदै कुरा गर्‍यो भने सामाजिक सञ्जालले हामीलाई बर्बाद गर्‍यो भन्छन् । मलाई के लाग्छ भने सामाजिक सञ्जालले हामीलाई बर्बाद गरेको छैन । हामीले हामी आफैंलाई बर्बाद गरिरहेका छौँ । देशमा, पञ्चवर्षीय योजनाहरू आएका छन् । राणाबाट परिवर्तन, राजाबाट परिवर्तन, त्यसपछि राजालाई समाप्त गरेर अहिले हामी संघीय गणतन्त्रमा छौँ । यति ठूला परिवर्तन हुँदा पनि हाम्रो देशका जनताले राम्रोसँग एकछाक खान पाएका छैनन् । कामको खोजीमा खाडीलगायत अन्य देशमा भौतारिनु परेको छ । यसलाई हामी हाम्रो योग्यता भनौं ? यत्रो हराभरा वातावरण भएको, विशाल नदीहरूले घेरिएको समृद्ध देशमा हामी नेपाली जनता किन चरम गरिबीमा बाँचिरहेका छौँ ? किन गरिबीको पनि पिँधमा बाँच्न बाध्य छौँ हामी ? यो कुरालाई सोच्नुपर्छ । 

यस्तो गरिबीमा बाँच्ने मानिसहरूले सामाजिक सञ्जालमार्फत आफ्नो कुण्ठा ओकल्ने र आफैंप्रति व्यंग्य गर्ने मौका पाएका छन् । २००७ देखि अहिलेसम्म देशमा भएको परिवर्तनको प्रतिफल जनताले पाएनन् । सामाजिक सञ्जालले उनीहरूलाई कुण्ठा व्यक्त गर्ने स्थान दिएको छ । व्यावसायिक पत्रकारिताले आफ्नो कर्तव्य पूरा गर्न नसकेपछि यस्तो अवस्था आउनु अस्वाभाविक होइन ।



अहिले साथीभाइहरूले चिथोर्ने खालको कलम बोकेको देखिँदैन । मसी कलमभित्र सुकेको जस्तो लाग्छ । मसी सुक्न नदिनुहोला । मसीलाई मात्र सुक्न नदिएर राख्नुभयो भने अक्षरले क्रान्ति गर्ने हो, बन्दुकले क्रान्ति गर्नेहरूको नियत र हालत हामीले देखिहाल्यौँ । आजसम्म अक्षरबिनाको क्रान्ति देखिएको छैन । कार्ल मार्क्सले ‘दास क्यापिटल’ नलेखेको भए कम्युनिष्ट क्रान्ति हुँदैन थियो होला । क्रान्ति अक्षरले नै गर्ने हो, विचारले नै गर्ने हो । 

मलाई के लाग्छ भने हामी पत्रकारहरूले गरिब जनताको पक्षमा आफूलाई सक्रिय र सक्षम बनाउन सकेका छैनौँ । पत्रकारले स्वाभिमानका साथ जनताको पक्षमा काम गर्ने हो भने राजनीति आफ्नो तहमा आउन बाध्य हुन्छ । राजनीतिक नेताहरूको घाँटीमा नैतिकताको डोरी कस्ने काम हामीले नै गर्ने हो । मेरो कुरा गर्नुहुन्छ भने, पत्रकारिताकै सिलसिलामा म पहिलेको ७५ र अहिलेको ७७ जिल्लाको टुप्पामा पटकपटक पुगेको छु । सबै जिल्लामा मेरा कर्मठ साथीभाइहरू छन् । तीमध्ये कतिपयका लागि पत्रकारिताको पेसा नै बाध्यता बनेको छ । मेरा धेरै सक्षम पत्रकार भाइहरू पछिल्लो समयमा पालिका र सरकारी निकायका हाकिमको प्रेस सल्लाहकार बसेका छन् । यो अस्वाभाविक होइन ।



पत्रकारिता व्यवसायिकता हुन नसकेपछि कुनै न कुनै व्यवसाय गरेर ज्यान त पाल्नैपर्छ । जानेको त्यही छ, पत्रकारिताको काम । जनसम्पर्कको काम । हिजो जनताको रिर्पोटिङ गर्ने साथीहरू अहिले नेताको रिर्पोटिङ गर्न थालेका छन् । यो उनीहरूको चाहना वा मनसाय होइन, बाध्यता हो । हाम्रा आदर्शहरू स्खलित भएका छन्, हामी आदर्शको बाटो पहिल्याउनै नसक्ने भएका छौँ । हाम्रो राजनीतिले कुनै दिशाबोध गर्न सकेको छैन । हाम्रा राजनीतिक दलहरूले कुनै मार्गदर्शन गर्न सकेका छैनन् ।

जनयुद्ध लडेर आएका प्रधानमन्त्री पाएका छौँ, तीन–तीन पटक । दुईपटक त उहाँ दायाँ र बायाँ पल्टिइसक्नुभयो, तै पनि अहिलेसम्म जनताले उहाँलाई ‘पल्टुराम’को नाम दिएका छैनन् । भोलि फेरि यही दोहोरिन्छ । त्यो निश्चित नै छ । यस्तो अव्यवस्थालाई सम्हाल्न नसक्ने नेता र सत्ताको कुनै काम छैन । राजनीतिक दलको पनि काम छैन ।

हिजो पहिलो जनआन्दोलनका प्रारम्भमा सर्वमान्य नेता गणेशमान सिंहबाट प्रेरित भएर मदन भण्डारीले मनमोहन अधिकारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी गठन गरे । त्यो एकताबाट कांग्रेस र एमाले मिलेर देश बनाउने सन्देश प्रसारित भएको थियो जनताको बीचमा । आजको मितिसम्म कांग्रेस र एमाले मिलेर देशको विकासमा खास योगदान दिन सकेनन् ।

धेरै कारणले पत्रकार बढी सचेत हुनुपर्छ, बढी विवेकशील हुनुपर्छ । हाम्रो शासन सत्तामा बस्नेहरूलाई घोची रहनु पर्दछ र घच्घच्याइरहनुपर्छ । घच्घच्याएर भएन भने चिथोर्नै पर्छ कलमले ।

शासन व्यवस्था सुव्यवस्थित गरेर लान नसकेको यो पहिलोपटक होइन । एकतन्त्रीय शासन व्यवस्थाबाट बहुदलीय शासन व्यवस्थामा कसरी लैजाने भन्ने परिकल्पना कसैसँग थिएन । जोसँग परिकल्पना थियो त्यसलाई पाखा लगाइयो ।

धेरै कारणले हामी पत्रकार बढी सचेत हुनुपर्छ, बढी विवेकशील हुनुपर्छ । हाम्रो शासन सत्तामा बस्नेहरूलाई घोची रहनु पर्दछ र घच्घच्याइ रहनुपर्छ । घच्घच्याएर भएन भने चिथोर्नै पर्छ कलमले ।

अहिले साथीभाइहरूले चिथोर्ने खालको कलम बोकेको देखिँदैन । मसी कलमभित्र सुकेको जस्तो लाग्छ । मसी सुक्न नदिनुहोला । मसीलाई मात्र सुक्न नदिएर राख्नुभयो भने अक्षरले क्रान्ति गर्ने हो, बन्दुकले क्रान्ति गर्नेहरूको नियत र हालत हामीले देखिहाल्यौँ । आजसम्म अक्षरबिनाको क्रान्ति देखिएको छैन । कार्ल मार्क्सले ‘दास क्यापिटल’ नलेखेको भए कम्युनिष्ट क्रान्ति हुँदैन थियो होला । क्रान्ति अक्षरले नै गर्ने हो, विचारले नै गर्ने हो । 

नेपालको समुन्नतिका लागि, परिवर्तनका लागि वातावरणको निर्माण नेताहरूको भाषणले होइन पत्रकारहरूको चिन्तनले गर्ने हो । त्यसका लागि तीखो प्रहार आवश्यक हुन्छ । साथीहरूले आत्मविश्वास राख्नुहोस् । तपाईंहरू सबैले जसरी मलाई माया गर्नुभयो, केक खुवाउनुभयो, खादामाला लगाइदिनुभयो, उपहारहरू दिनुभयो, त्यसरी नै जनतालाई सुविचारको उपहार दिनुहोस् । संघ–संगठनका साथीहरूसँग हात मिलाएर बस्नु भयो भने कुनै पनि बेला जुरुक्क उठेर यहाँका दुर्जनहरूसँग लड्न सक्ने क्षमता विकसित हुनेछ । योभन्दा बढी म भन्न सक्दिन । भन्न पनि चाहन्न । लेख्न नसक्ने भए भन्ने थिएँ । पछि भन्दै गरौंला, तपाईँहरूसँग गफ गर्दै गरौँला । मलाई माया र स्नेह दिनुभयो । दिइरहनुभएको छ, मैले पाइरहेको छु र जीवित छु । तपाईँहरूलाई देखेपछि, तपाईंहरूसँग काम गर्न मन लाग्छ । डाँडाकाँडा घुम्न मन लाग्छ । रहर जागेर आउँछ । उमेरले सबै कुरा धान्न सक्दैन । उमेरको अंक ७२ लाई उल्ट्याएर, २७ को जस्तो काम गर्ने चाहना छ ।

(किशोर नेपालले आफ्नो जन्मदिनको अवसरमा २४ जेठ २०८१ मा शुभकामना सभामा व्यक्त गरेको विचार) ​

  • प्रकाशित मिति : जेठ २५, २०८१ शुक्रबार १८:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया