logo-img

विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित

दक्षिण अफ्रिकाले नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । दक्षिण अफ्रिकाले दोस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सलाई चार विकेटले हरायो । 

उसले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो । आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि डेविड मिलरले अर्धशतकीय पारी खेले । ५१ बलको सामना गरेका उनले चार छक्का र तीन चौकासहित अविजित ५९ रनको पारी खेलेका हुन् । यस्तै, ट्रिस्टन स्टब्सले ३७ बलमा एक चौका र एक छक्कासहित ३३ रनको योगदान दिए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र लोगानभान बीकले दुई/दुई तथा बासडी लीडेले एक विकेट लिए ।

नेदरल्याण्ड्सलाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन बनायो । उसका लागि साइब्रान्ड एंगलब्रेच्टले ४०, लोगानभान बीकले २३, विक्रमजित सिंहले १२ र कप्तान स्कट एड्रवाड्सले १० रन बनाए ।

दक्षिण अफ्रिकाका लागि ओटनिल बार्टम्यानले चार, मार्को जोन्सन र एनरिक नोर्टजेले दुई/दुई विकेट लिए । यो जितपछि समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले दुई खेलबाट चार अंक जोडेको छ । ऊ अहिले शीर्ष स्थानमा छ ।



यस्तै, तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले दुई खेलबाट दुई अंक जोडेको छ । यही समूहमा रहेको नेपाल चौथो स्थानमा छ । नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।  



  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया