logo-img

विश्वकपमा वेस्ट इण्डिजसँग युगान्डा ३९ रनमै अलआउट, १३४ रनले गुमायो खेल

आयोजक वेस्ट इण्डिजले नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित हात पार्नेक्रममा उसले आज बिहान सम्पन्न खेलमा पहिलोपटक विश्वकप खेलिरहेको युगान्डालाई १३४ रनले हरायो । 

युगान्डाको भने यो दोस्रो हार हो । उसले पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेको थियो । यद्यपि युगान्डाले दोस्रो खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई हराएको थियो । तर, तेस्रो खेलमा भने उसले कमजोर प्रदर्शन गर्‍यो ।

वेस्ट इण्डिजले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा ३९ रनमै अलआउट भएको हो । टी–२० विश्वकप इतिहासमा यो कुनै पनि टिमले बनाएको अहिलेसम्मको सानो स्कोर हो । युगान्डाका लागि जुमा मियागीले सर्वाधिक १३ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । वेस्ट इण्डिजका लागि अकिल होसेनले पाँच, अल्जारी जोसेफले दुई, गुडाकेश मोती, रोमारियो शेफर्ड र आन्द्रे रसेलले एक/एक विकेट लिए । 



त्यसअघि गयानास्थित प्रोभिडेन्स स्टेडियममा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनायो । उसका लागि जोनसन चार्ल्सले ४४, आन्द्रे रसेलले अविजित ३०, कप्तान रोभम्यान पावेलले २३, निकोलस पूरनले २२ र ब्रेण्डन किंगले १३ रन बनाए ।

युगान्डाका लागि ब्रायन मसाबाले २ ओभरमा ३१ रन दिएर सर्वाधिक दुई विकेट लिए । समूह ‘सी’ मा रहेको वेस्ट इण्डिजले पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई हराएको थियो ।



ऊ अहिले चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यस्तै, युगान्डा तीन खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ । समूह ‘डी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आउँदो बुधबार श्रीलंकासँग खेल्ने तालिका छ ।  

  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया