logo-img

सन्दीप जान पाएनन्, तर क्यान अध्यक्ष चतुर डाक्टर बनेर पत्नीसहित अमेरिका उडेको खुलासा

नवौँ संस्करणको टि–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ । यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवाद भइरहेका छन् । उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरविनै अमेरिका उडेको खुलासा भएको छ ।

टी–२० विश्वकपका लागि २५ सदस्यीय टोली हुनुपर्ने प्रावधान छ । टोलीमा १५ खेलाडी अनिवार्य हुनुपर्छ भने अन्य व्यवस्थापकीय जनशक्ति सहभागी रहन्छन् । नेपाल न्युज बैंकलाई प्राप्त लिस्टमा २५ सदस्यीय टोलीमा अध्यक्ष चन्द समेत अटाएका छन् । 

क्यान उपाध्यक्ष रोशन सिंहका अनुसार चन्द नेपाली क्रिकेट टोलीको मेडिकल सम्हालेर टोलीसँगै अमेरिका उडेका हुन् । अर्थात् उनी टिम डाक्टर भएर अमेरिका गएका हुन् । नेपाली टिमभित्र रहेर प्रतियोगिता हेर्न जाने चन्द क्यानका पहिलो अध्यक्ष हुन् । 

यसअघि सन् २००८ मा विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न नेपाली टोली जर्सी जाँदा व्यवस्थापकका रुपमा गएका तत्कालीन महासचिव टंक पनेरू विवादमा परेका थिए । यसपटक अध्यक्ष चन्द आफैँले अमेरिका भ्रमण गर्ने निर्णय गरेका हुन्, त्यो पनि सपत्नी ! 

‘आइसिसीले दिएको २५ जनाको कोटामा अध्यक्ष त मेडिकल डाक्टरका रुपमा जानुभएको भन्ने बाहिर आएको छ, तपाईंलाई के जानकारी छ ?’ भन्ने प्रश्नमा क्यानका उपाध्यक्ष रोशन सिंहले भने, ‘आइसिसीको गाइडलाइन अनुसार टोलीमा एकजना डाक्टर अनिवार्य हुनुपर्ने भनिएको थियो । मैले अध्यक्षलाई २५ जनाको कोटामा नजान आग्रह गरेको थिएँ । मैले बोर्डबाट निर्णय गराएर अध्यक्षको कोटामा जानु भन्दा मान्नुभएन । अमेरिका गएपछि मलाई फोन गरेर पनि मैले बुझिनँ, सचिवले बर्बाद पार्यो भनेर चन्द दाइले फोन गर्नुभएको थियो । अध्यक्षलाई गुमराहमा पारेर पठाइएको रहेछ । अहिले उहाँले नै आत्मग्लानी महसुस गरिरहनुभएको छ । यसमा दोषीचाहिँ सचिव नै देख्छु । टिममा डाक्टर नहुँदा उहाँ जानु त डाक्टरकै रूपमा गएको बुझ्नुपर्यो नि !’

यसरी अध्यक्षलाई गुमराहमा पार्ने जोसुकै भए पनि कानुनी कार्बाही हुनुपर्ने सिंहको भनाइ छ । 



अफिसियल टोलीमा चन्दबाहेक प्रशिक्षक मोन्टी देसाई, बलिङ प्रशिक्षकमा रोडेरिक ओर्भिल इस्टविक, रमन सिवाकोटी (एनालिस्ट), विक्रम न्यौपाने (फिजियो), अब्दुल सतार (ट्रेनर), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन हनमन्त फाडनिस (कन्सलटेन्ट प्रशिक्षक) अमेरिका गएका छन् । 

आइसिसीले संवादका लागि आवश्यक परेमा विभिन्न देशका मिडिया म्यानेजरलाई सम्पर्क गर्नु भनेर मिडिया नोट पठाए पनि क्यानले अझै मिडिया म्यानेजर उपलब्ध गराउन सकेको छैन । 



अदालतले खेलाडी सन्दीप लामिछानेलाई​ निर्दाेष ठहर गरे पनि अमेरिकाले उनलाई​ भिसा दिएन । क्यानकै कमजाेरीका कारण सन्दीपले भिसा नपाएकाे भन्दै क्यानकाे आलाेचना हुँदै आएकाे छ । 

  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया