logo-img

क्यानमा अध्यक्षभन्दा सचिव शक्तिशाली छन्, सन्दीपको विषयमा उनै जिम्मेवार हुन् : क्यान उपाध्यक्ष सिंह
'क्यानले अब पनि यस्तै हर्कत गर्दै जाने हो भने आइसिसीले निलम्बन नगर्ला भन्न सकिन्न'

भर्खरै सरकारले आगामी आर्थिक वर्षको बजेट  ल्याएको छ । यो नयाँ बजेटले खेलकुद क्षेत्रलाई कति महत्व दिएको छ, कुन प्राथमिकतामा राखेको छ ?

अहिले नयाँ खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ आउनेबित्तिकै खेलकुदको पनि क्रिकेट विधालाई पहिलो प्राथमिकतामा राख्दै संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपको तयारीस्वरूप पाँच करोड बजेट निकासा गराउनुभयो । नेपाली खेलको इतिहासमै कुनै इभेन्टको तयारीका लागि सरकारले पाँच करोड सहयोग गरेको यो पहिलोपटक हो । यसका लागि सरकार र राखेपका सदस्य सचिवलगायत सबै सम्बन्धित सबैजनालाई धन्यवाद पनि दिन चाहन्छु । 

बजेटको सम्बन्धमा कुरा गर्नुपर्दा विराटनगर, त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट स्टेडियम (टियू)  र मूलपानी क्रिकेट ग्राउण्डको स्तरोन्नतिका लागि सरकार गम्भीर देखिएको छ, यसका लागि बजेट समेत छुट्याएको छ । खेलकुद क्षेत्रमा कति बजेट छ भन्नेबारे यकिन जानकारी त भएन । तर, क्रिकेट विधामा सबैभन्दा बढी बजेट परेको छ भन्नेचाहिँ जानकारी छ । यसैबाट प्रस्ट हुन्छ, सरकारले नयाँ बजेटमा खेलकूद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।

अस्ति भर्खरै खेलकुदमन्त्रीले नै खेल क्षेत्रमा बजेट पुगेन भन्दै संसदीय समितिमा अहिलेको बजेटले लुँडो र चेस खेलाउन मात्र पुग्छ भन्नुभएको थियो । त्यति कम बजेट विनियोजन हुँदै आएको छ र यस क्षेत्रमा ? 

होइन, खेलकुदमन्त्रीले भन्नुभएको कुरामा म विमति जनाउन चाहँदिन । उहाँ आफैँ पनि खेलकुदप्रेमी हुनुहुन्छ । समग्र खेललाई राम्रोसँग बुझ्नुभएको छ । उहाँको भनाईको तात्पर्य हेर्ने हो भने सरकारको नीति तथा कार्यक्रम देशको विकासका लागि भन्दा पनि देशलाई चिनाउने र पर्यटक भित्र्याउने माध्यमलाई कम प्राथमिकता दिएको देखिन्छ । मन्त्रीले पनि त्यही सोच्नुभएको होला । 

अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने केही देशले खेलकुद हबका रूपमा विकास गरेको देखिन्छ । तर, हाम्रो सरकारले अहिले त्यसरी हेरेको छैन । खेलको क्षेत्रमा लगानी गर्यो भने खेर जाँदैन । तर, पहिले सरकारले पूर्वाधारमा ध्यान दिनुपर्यो । टेस्ट क्रिकेट टोली नेपालमा ल्याएर खेलाउने हो भने कहाँ बसाउने ?



ड्रेसिङ रुम कामचलाउ मात्र छ । डायनिङ टेबल छैन । नेपालको दर्शक अहिले विश्वको एक नम्बर छ । मैले होइन, विश्वले भन्दै छ । तर, दुर्भाग्य दर्शकका लागि बस्ने व्यवस्था छैन । भुइँमा बसेर क्रिकेट हेर्नुपरेको छ । अब कसरी भन्न सकिन्छ सरकारको ध्यान खेल क्षेत्रमा छ भनेर ? यो भन्नुको अर्थ के हो भनेपछि सरकारले बाटो, पुल मात्र बनाएर हुन्न ? विदेशीसँग ऋण लिएर पोखरामा विमानस्थल बन्यो, भैरहवामा विमानस्थल बनायो । 



झापामा ट्राभल हाउस बनायो । त्यही पूर्वाधारका काम नै भइरहेको छैन । थन्क्याएर राखेर त्यो ऋण कहिले चुक्ता हुने त ? तर, अहिलेका मन्त्रीले जसरी सोच परिवर्तन गर्न खोज्नुभएको छ, सरकारले त्यो गर्न सकेको छैन । एकपटक मात्र सरकारले खेल क्षेत्रमा लगानी गरेर हेरोस् पर्यटक मात्र कति धेरै भित्रिने छन् । त्यो भनेको सरकारलाई आर्थिक रूपमा बलियो बनाउने  पाटो हो । 

हामी एसिया कप खेल्दै गर्दा पाकिस्तान भारतमा नजाने, भारत पाकिस्तान नजाने, युएईमा पाकिस्तान खेल्न मान्ने, भारत खेल्न नमान्ने । यिनीहरूको पनि त भित्रै आफ्नै राजनीति छ नि ! त्यो राजनीतिले श्रीलंकामा लगिदियो । आजको दिनमा हाम्रो देशमा पूर्वाधार भइदिएको भए उपयुक्त विकल्प नेपाल हुन सक्थ्यो । भारत र पाकिस्तानको खेल भइदिएको भए सम्झिनुस् नेपालमा कति पर्यटक आउने थिए । खेलकुदले पर्यटक वर्ष घोषणा गरेको भन्दा बढी पर्यटक भित्र्याउन सक्छ । सरकारले यो विषयमा ध्यान दिन आवश्यक छ । 

२०२७ मा हुने महिला विश्वकपको आयोजना गर्न आइसिसीले अनुमति दिएको छ । तर, आजसम्म पनि सरकारले केही तयारी सुरु गर्न सकेको छैन । पूर्वाधार तयारी गर्दै क्रिकेटको विकास गर्न भन्दै लामो समय दिएको हो नि त । तर, हामी त्यसमा पनि चुकिरहेका छौँ । क्रिकेटमा सरकारको बजेट थोरै हुन्छ, आइसिसीले पूर्वाधार विकासका लागि भन्दै बजेट दिँदैन । नेपालमा नीति ल्याउने कार्यान्वयन नगर्ने प्रवृत्ति हावी भयो । अहिलेको मन्त्रीले केही गर्न खोजिरहनुभएको छ । सदस्य सचिवले पनि क्रिकेटलाई राम्रो रूपले हेर्नुभएको छ । विभिन्न समयमा उहाँले सहयोग पनि गर्नुभएको छ । 

टी-२० क्रिकेटमा भर्खरै नेपालले नेदरल्याण्डसँग खेल खेल्यो । तर, अपेक्षा गरेअनुसार, शुभेच्छुकको उत्साहअनुसार खेल प्रदर्शन गर्न सकेन । यसमा तयारी नपुगेको, पिचको कन्डिसन नबुझेको हो कि अन्य प्राविधिक कमजोरी भएर हो ?

यो प्रदर्शनको कुरा गर्ने हो भने दुईवटा पाटा हुन्छन् । हामीले टोलीलाई झण्डै एक महिना अगाडि अमेरिका पठायौँ । नेपालमा छँदा पनि निरन्तर खेल भइरहेका थिए । हामीले तयारीकै लागि भनेर भारत पठायौँ । तर, पनि दुई तीन कुरा खट्किएको जस्तो देखियो । विश्वकपको पहिलो खेलमा नेपालले जुन नतिजा निकाल्यो, हामी सबै दुखी छौँ । खेलाडी, पदाधिकारी, दर्शक सबै । अपेक्षाकृत नतिजा आएन । यसका पछाडि विभिन्न कारण हुन सक्छन् । खेल हो, कहिले राम्रो पनि हुन सक्छ, कहिले नराम्रो पनि हुन सक्छ । तर, अब मंगलबार नेपालको खेल श्रीलंकासँग छ, हिजोको खेललाई सम्झिएर राम्रो प्रदर्शन गर्नेछन् । त्यहाँ नेपाली खेलाडीले मात्र खेलेका होइनन् । त्यहाँ ९९ प्रतिशत नेपाली दर्शक पनि थिए । टियूभन्दा बढी दर्शक नेपलको समर्थनमा उत्रिएका थिए ।   

टी-२० क्रिकेटमा सन्दीप लामिछानेको अभाव खड्किएको त होइन ?

अवश्य पनि सन्दीप नहुँदा टोली, अभिभावक र समग्र दर्शकको ध्यान नै खल्बलिएको छ । सन्दीप टोलीमा नहुनु हाम्रो लागि दुर्भाग्य हो । सन्दीप भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो । सन्दीप टोलीमा भइदिएको भए खेलको प्रदर्शन र परिणाम नै अर्कै हुन्थ्यो । 

सन्दीप लामिछानेले भिसा नपाउनुमा क्रिकेट संघ (क्यान) को पनि कमजोरी देखाइएको छ । १५ जनाको सूचीमा समावेश नगराएको, हतार गरेर सूची बनाएको भन्ने टीकाटिप्पणी पनि सुनिएको छ नि, के भन्नुहुन्छ ?

सन्दीपको विषयमा तपाईंले उठाउनुभएको कुरा जायज हो । टोली निर्धारण गर्ने टिममा हामी पनि थियौँ । क्यानको छुट्टै एउटा विधान छ । त्यसमा सबैभन्दा बलियो भूमिका, काम कर्तव्य र अधिकार सचिवलाई दिएको छ । अध्यक्षको पनि त्यति धेरै अधिकार हुन्न । उपाध्यक्ष भनेको त अध्यक्ष नभएको बेला कार्यक्रमको उद्घाटन गर्नेलगायतका काम मात्रै हुन् । सन्दीपलाई २५ को स्क्वार्डमा राखिएको थियो कि थिएन भन्ने जुन कुरा छ नि, त्यसमा आइसिसीको एउटा गाइडलाइन थियो, यति मितिभित्रमा पठाउनुपर्ने भनेर । त्यो मितिको अन्तिम दिनसम्म सन्दीपको फैसला नहुँदाखेरि हामीले १५ जना खेलाडी र १० जना अफिसियल गरी २५ जनाको नाम पठाउनुपर्ने थियो । त्यसमा सन्दीपको नाम थिएन । मलाई फेरि प्रचारबाजी गर्न आउँदैन, यथार्थ बोल्न आउँछ । सन्दीपको नाम नहुँदाखेरि म पनि दुःखी भएँ । दर्शक पनि निराश भए । 

सन्दीपलाई मैले भेटेपछि प्रयास गर्छौं भन्ने आश्वासन दिएँ । मन्त्रीसँग म आफैँ पनि भेट्न गएँ । क्रिकेट समर्थक पनि सडकमा ओर्लिनुभयो । सन्दीप किन टिममा परेनन् ? कसरी परेनन् भन्ने ? आमचासो हुन थाल्यो । प्रश्न हामीमा पनि अल्झिएको छ । म क्यानको उपाध्यक्ष भएको नाताले के भन्न चाहन्छु भने, त्यो हामीबाट टाढाको विषय थियो । सन्दीप टोलीमा नअटाउनुको जिम्मेवारी सचिव (पारस खड्का)ले लिनुपर्छ । हामी टोलीका सदस्यको नाम पठाउन हतारियौँ ।

भारत र अष्ट्रेलियाको नामसमेत नपठाइसकेको अवस्थामा हामी पनि एक दुई दिन पर्खिन सक्थ्यौँ । हाम्रो सिस्टम पुगेन कि पावर पुगेन ? क्यानको पदाधिकारी भएको नाताले यो प्रश्नमा म आफैँ पनि अल्झिएको छु । सन्दीप भन्दा अगाडि नै क्यानबाट १५ जनाको भिसा त लागिसकेको रहेछ । क्यानका केही पदाधिकारीले घुम्न जाने, खेल हेर्न जाने, आफन्तको भिसा त लगाइसकेको रहेछ । अमेरिकी एम्बेसीले पनि यिनीहरूको एकआपसमै कलह रहेछ भन्ने जानकारी पायो । १५ जना खेलाडीको भिसा लागिसकेपछि अर्को मान्छेको भिसा के आधारमा लगाउने त भन्ने प्रश्न थियो । साँच्चै नै मैले सुने, बुझेअनुसार १५ जना खेलाडीको स्क्वार्डमा नपरेकै कारण सन्दीपले भिसा नपाएको निष्कर्षमा पुगेँ । 

म क्यानको पदाधिकारी भएका कारणले बुझ्दै जाँदा अमेरिकी दूतावासले जसरी पहिले हामीलाई विश्वास गरेको थियो । पछि त्यस्तो विश्वास गरेन । त्यसैले खेलाडीको भिसा नलागीकन अन्य धेरैको भिसाका लागि भएका कुरामा भोलि न्यायपालिकाले छानबिन गर्ला नि त । 

मैले क्यानले राष्ट्रिय खेलकुद परिषद्मा पठाएका पत्र हेरेँ । त्यसमा १५ जना खेलाडीको लिस्टमा नाम नराखी भोलि कसैले नेपालबाट जानुपरे भनेर लेखिएको रहेछ । सन्दीप खेल्न नजाने भए, घुमाउन लैजानेले, विश्वकप हेर्न लैजाने र ? यो कुरा हामी क्यानको बोर्ड बैठकमा पनि गर्छाैं । 

खेलाडीको सूची तयार गर्दा क्यान पदाधिकारी वा कार्यसम्पादन समितिमा कुनै सरसल्लाह नभएको हो ? तपाईंलाई पनि पन्छाएर निर्णय गरिएको हो ?

 हो, म आफैँ पनि कार्यसम्पादन समितिमा छु । मलाई थाहा नभएको कुरा, कसरी खेलाडी छनोट गरियो ? मसँग सल्लाह नभएको सत्य हो । मैले विगतमा क्यान निलम्बनमा परेको पनि देखेँ । सन् २०१४ को विश्वकपमा नेपाली टोली सहभागी भइसकेपछि नेपाली क्रिकेटको अवस्था एकदम दयनीय भइसकेको थियो । म पनि त्यो बेला जिल्ला क्रिकेट संघको अध्यक्ष  थिएँ । त्यतिखेर जिल्ला र प्रदेशको क्रिकेट सुकिसकेको थियो । त्यसो हुँदा राष्ट्रिय टोलीमा पनि एक–दुईजना खेलाडीको हालीमुहाली थियो । त्यतिखेर मैले क्रिकेट संघको जिल्ला अध्यक्ष हो भन्दाखेरि यो निलम्बित जिल्लाको अध्यक्ष हो भन्थे । पछि कसैले उजुरी गर्यो अख्तियारमा गयो । पछि उहाँहरुले न्याय पाउनुभयो । 

त्यतिखेर हामी बंगलादेशको स्तरमा थियौँ, तर पछि पाँच वर्षमा धेरै नै क्षति व्यहोर्नुपर्यो । चाहेको भए हामी टेष्ट राष्ट्र बन्ने अवस्था हुन्थ्यो । क्यानले अब पनि यस्तै हर्कत गर्दै जाने हो भने आइसिसीले निलम्बन नगर्ला भन्न सकिन्न । यदि त्यसो भयो भने भोलिको दिनमा दोषी को होला त ? यो चिन्ताको विषय हो । यस्तै हो भने नेपाली क्रिकेट दुर्घटनामा नजाला भन्न सकिँदैन । तर, यसलाई सही ट्र्याकमा ल्याउन राष्ट्रिय खेलकुद परिषद्, अहिलेका मन्त्रीहरुको काँधमा जिम्मेवारी छ । यो विषयलाई उहाँहरूले गम्भीर रूपमा लिनुपर्दछ । 

क्रिकेटभन्दा बाहिरका व्यक्तिलाई भिसा दिएर पठाउँदा पो सन्दीपले भिसा नपाएका हुन् कि ? 

क्यानको लेटर हेडसमेत दुरुपयोग भइरहेका छन् । सरकार किन मौन छ त ? क्रिकेटमा लगानी नगर्ने, कुनै पनि प्रतियोगिता आयोजना गर्दा निजी कम्पनीलाई हायर गर्ने नागार्जुन गाउँपालिकाका मेयरलाई विश्वकप हेर्न गइदिनुपर्यो भनेर पत्र काटियो । ललितपुरका प्रमुख चिरञ्जीवी महर्जनले दिएको योगदान ती पत्र काट्नेले देखेनन् । जानुपर्ने त उहाँ हो नि । 

संघका केही पदाधिकारीले गर्दा नेपाली क्रिकेट र क्रिकेट समर्थकमाथि अन्याय भएको छ । विश्वले सम्मानका साथ हेरिरहेको नेपाली फ्यानको मनोबल हामीले गिराएका छौँ । हामी दोषी छौँ । सरकारले यस विषयमा छानबिन गर्नेछ भन्ने मैले विश्वास लिएको छु । नेपाल न्युज बैंक

  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया