logo-img

शिक्षण अस्पतालको व्यथा : महिनैपिच्छे फेरिने मन्त्रीलाई के थाहा ?
जनशक्ति अभाव, अनावश्यक राजनीतिक दबाब

धनगढी कैलालीकी ४५ वर्षीया सीता शर्मालाई करिब पाँच–छ महिनाअघि पेट तथा छाती दुख्यो । उनलाई लगातार नभई एक–दुई घन्टाको फरकमा कहिले तल्लो पेट त कहिले माथिल्लो पेट दुख्ने मात्रै होइन, छातीमा पनि जलन र पीडा महसुस हुन्थ्यो ।

सुरु–सुरुमा त उनले ग्याष्ट्रिकका कारणले यस्तो समस्या देखिएको हुनसक्ने अनुमान गरिन् । तर, जति पछि भयो त्यति नै असहज महसुस हुन थालेपछि उनले धनगढीको सिपी अस्पतालमा स्वास्थ्य परीक्षण गराइन् । चिकित्सकले पनि ग्याष्ट्रिकका कारणले छाती तथा पेट दुख्ने समस्या भएको जनाउँदै सीतालाई औषधि दिएर घर पठाए । 

चिकित्सकले सुझाएअनुसार सीताले नियमित औषधि सेवन गरिन् । तर, उनको पीडा केही कम त भयो, तर रोग बीसको उन्नाइस पनि भएन । चिकित्सकको प्रेस्किप्सनअनुसारको औषधि खाँदा पनि पीडा कम नभएपछि उनी थप उपचारका लागि काठमाडौं आइन् । 

यही जेठमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनको आमाशयमा अल्सर र हर्निया भएको पुष्टि भयो । उनले हर्नियाको शल्यक्रियाका लागि एक वर्षपछिको पालो पाएकी छिन् । ‘धनगढीमा हुँदा ग्याष्ट्रिकको औषधि खाएँ, तैपनि निको भएन । धेरैले काठमाडौं गएर उपचार गाराउनू भनेपछि यहाँ आएँ,’ सीताले सुनाइन्, ‘यता आएँ, रोग पनि पत्ता लाग्यो । तर, पालोचाहिँ एक वर्षपछिको आएको छ ।’ डाक्टरले जटिल खालको हर्निया भएको भनेकाले शल्यक्रियाका एक वर्ष कुर्दा रोग झनै बढेर जाने उनको चिन्ता छ । त्यसैले उनले निजीमै गएर भए पनि उपचार गर्ने सोच बनाएकी छिन् । 

धादिङको सुनौला बजारका ५७ वर्षीय रामबहादुर तामाङले पनि एक महिनाको पाले कुरेर शिक्षण अस्पतालमै नातिको ढाडमा भएको पोकोको शल्यक्रिया गराए । उनी अस्पताल आएको १५ दिन भइसकेको छ । नातिको शल्यक्रिया भएको एक साता भएको छ । रामबहादुरले नातिको उपचारका लागि अन्य अस्पतालमा पनि नदेखाएका होइनन्, तर निजी अस्पतालको शुल्क छोइसाध्य नभएकाले उनले पालो पर्खेरै भए पनि नातिको रोगको शल्यक्रिया गराए । तामाङ भन्छन्, ‘यहाँ साढे दुई लाख रुपैयाँ लाग्यो । अन्त त झन् पाँच–छ लाख रुपैयाँ भनेका थिए । कहाँबाट ल्याउनू त्यत्रो पैसा ?’

अस्पतालको शय्या र शल्यक्रिया निःशुल्क हुँदा पनि उनको साढे दुई लाख रुपैयाँ खर्च भइसक्यो । यो सबै भनेको बस्ने, खाने र औषधि खर्च हो । उनलाई शल्यक्रियाका लागि समय लिन पनि झन्डै एक महिना लाग्यो । ‘अब सस्तो खोजेपछि समय पनि लाग्यो । मान्छे धेरै भएपछि भिड पनि त्यस्तै हो । पैसा भएको भए पहिले नै अप्रेसन भइसक्थ्यो,’ तामाङ भन्छन्, ‘यहाँको भिड हेर्न बिहान टिकट काट्ने समयमा आउनुपर्छ अनि थाहा हुन्छ । अलि मिलाएर सजिलो बनाइदिए त हुने । तर, सस्तो भएपछि यस्तै हो ।’



सीता र रामबहादुर त प्रतिनिधि पात्र मात्र हुन् । दैनिक १० हजार हाराहारी बिरामीलाई सेवा दिइरहेको त्रिविमा शल्यक्रियाका लागि डेढदेखि दुई वर्षसम्मको पालो कुर्नुपर्ने अवस्था छ । त्रिविमा विशेष गरी युरोलोजी, नाक, कान, घाँटी र अन्य सामान्य शल्यक्रियाका लागि लामो समयसम्म पालोमा राख्ने गरिएको छ । इमर्जेन्सीका शल्यक्रियाबाहेक नाक, कान, घाँटीसम्बन्धी जटिल शल्यक्रिया, मिर्गौलाको पत्थरी, जनरल सर्जनलगायत केसहरूलाई पालोमा राख्ने गरेको निर्देशक प्रा.डा दिनेश काफ्ले बताउँछन् ।

‘टिचिङ अस्पतालमा एकभन्दा बढी रोग भएका व्यक्ति बढी आउने गर्नुहुन्छ । बाहिर उपचार गरिरहनुभएको हुन्छ । अन्यत्र उपचार गराएर पनि रोग निको नभएपछि अन्तिममा आउने भनेकै टिचिङ अस्पतालमा हो,’ उनी भन्छन्, ‘उदाहरणका लागि एकजना व्यक्ति हिजो आउनुभएको थियो । उहाँलाई मधुमेह, हृदयाघात हुनुका साथै मधुमेह अल्सर पनि भएको थियो । साथै मिर्गौलामा पनि समस्या देखियो । एकजना बिरामीलाई तीनदेखि चारजना चिकित्सकले हेर्नुपर्ने अवस्था हुन्छ ।’ टिचिङमा प्रायः जटिल र एकजना बिरामीलाई अनेक रोग भएर आउने भएकाले समयमै पालो नपाउने समस्या रहेको उनको भनाइ छ ।



उनका अनुसार पालोमै रहेका बिरामीहरू अन्यन्त्र उपचार गराउन गएमा अन्य बिरामीले पालो पाउने तथा बीचमा कसैलाई समस्या देखिए इमर्जेन्सी सेवा दिने गरिन्छ । यसबाहेक, इमर्जेन्सीका शल्यक्रियाले लामो समय लिने र जटिल शल्यक्रियामा सर्जनहरूको टिम नै लाग्नुपर्ने भएकाले समेत जोखिमबाहेकका शल्यक्रिया ढिला भइरहेको डा. काफ्लेले बताए । 

‘हामीकहाँ १९ वटा अप्रेसन थिएटर नियमित चलिरहेका छन् । २४सै घण्टा डेलिभरी र अतिआवश्यक सेवा दिइरहेका छौँ । उदाहरणका लागि शिक्षण अस्पतालमा म फलानोको नातेदार, फलानोको पार्टीको मान्छे, त्यसैले मैले पालो पहिले पाउनुपर्छ भन्नेजस्तो कल्चरले गर्दा पनि यहाँ समस्या निम्तिएको छ । नीति–नियम चल्न दिनुको साटो राजनीति गर्ने ठाउँ बनाउँदा टिचिङमा समस्या बढेको हो ।’
 
शिक्षण अस्पतालले चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थीलाई सिकाउँदै उपचार सेवा दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा पनि शल्यक्रिया प्रक्रिया ढिला हुने गरेको निर्देशक काफ्लेले जानकारी दिए । त्यस्तै, उपकरण चलाउने दक्ष जनशक्तिको अभाव र बजेट अपर्याप्त हुँदा सेवा प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

‘हामीले सक्दो सेवालाई चुस्त, दुरुस्त बनाउने प्रयास गरिरहेका हुन्छौँ । हिजो मात्रै (गत बिहीबार) पाँचसय ८४ जनाको अल्ट्रासाउण्ड गर्यौं । मलाई जानकारी भएसम्म संसारमा कतै पनि एकैदिनमा यस्तो गरिएको थाहा छैन । तैपनि टिचिङमा बिरामीले समयमै उपचार पाएनन् भन्ने खबर सुनिन्छन्,’ उनले भने । 

‘बाहिरबाट भनेजस्तो दुई महिनामा शल्यक्रियाको लाइन घटाउन सकिँदैन । भर्खर आएका मन्त्रीलाई केही थाहा हुँदैन । काम गर्ने मानिसलाई अवसर दिनुपर्यो । यसका लागि स्वास्थ्य जनशक्ति र पूर्वाधार व्यवस्थापन गर्न जरुरी छ,’ डा. काफ्लेले भने ।

अस्थिर राजनीतिको मारमा वीर : विपन्न बिरामीको बिचल्ली

स्वास्थ्य बीमा : पटकपटक ढाँटिन्छन् बिरामी, सेवा प्रभावकारी बनाउन के गर्दैछ सरकार ?

 

  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया