logo-img

गण्डकी अस्थिरताको बन्धकी : बजेटको मुखमा बहुमतको संकट
मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज ?

संविधानको धारा १६८ (३) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

त्यसअघि मुख्यमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भए । अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । 

मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, अहिलेको प्रदेशसभाको अंकगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन् । 

विश्वासको मत पाउन मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभाका ३१ सदस्यको समर्थन चाहिन्छ । विपक्षी एमाले–माओवादी केन्द्रको गठबन्धनमा रहेका प्रदेशसभा सदस्यबाहेक सबैले मत दिँदा पनि उनलाई बहुमत पुग्दैन । यद्यपि, उनीहरूले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिनेबारे अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । राप्रपा प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मतबारे पार्टीले आधिकारिक निर्णय गरिनसकेको बताए । 

'मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्ने अधिकार पार्टीका केन्द्रीय अध्यक्षलाई छ, हेरौँ भोलिसम्म समय छ, माथिबाट जे निर्देशन आउँछ हामी त्यहीअनुसार अगाडि बढ्छौँ,' उनले भने । मनाङ ‘ख’बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले भने ३० प्रदेशसभा सदस्यको समर्थन जसले जुटाउँछ, उसैलाई निर्णायक मत दिने बताउँदै आएका छन् । गुरुङ अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । 

माओवादी केन्द्रको चुनाव चिह्न लिएर गोरखा-२ ‘क’ बाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई माओवादीले आफ्नै संसदीय दलको सदस्य दाबी गर्दै आएको छ । देवकोटालाई मतदानमा दलको ह्विप लाग्ने माओवादीको भनाइ छ । यसअघि उनले एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई विश्वासको मत दिएका थिए । 



यदि राप्रपाका दुई र स्वतन्त्र प्रदेशसभा सदस्य गुरुङले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने अवस्था आए पनि पाण्डेलाई सरकार टिकाउन थप एक मतको खाँचो पर्छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताए । 

'असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेछ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढंग प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ,' उनले भने । 



  • प्रकाशित मिति : जेठ २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया