logo-img

आइसिसी टी–२० : रोमाञ्चक खेलमा पाकिस्तानलाई ६ रनले पराजित गर्दै भारत शीर्ष स्थानमा

अमेरिका र वेस्ट इण्डिजमा जारी आइसिसी टी–२० विश्वकपमा समूह ‘ए’ मा रहेको भारतले लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो । उसले पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराएको थियो । 

गत संस्करणको उपविजेता पाकिस्तानले भने लगातार दोस्रो हार बेहोर्‍यो । ऊ पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा स्तब्ध भएको थियो । तेस्रो खेलमा भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो । 

उसका लागि मोहम्मद रिजवानले ३१, इमाद वासिमले १५, कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले १३/१३ रन बनाए । नसीम साह १० रनमा अविजित रहे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

भारतका लागि जसप्रित बुहराले चार ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिए । यस्तै, हार्दिक पाण्ड्याले दुई तथा अर्शदीप सिंह र अक्षर पटेलले एक/एक विकेट लिए ।

त्यसअघि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारत १९ ओभरमा ११९ रनमा अलआउट भयो । उसका लागि ऋषभ पन्तले ३१ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए । 

यस्तै, अक्षर पटेलले २० र कप्तान रोहित शर्माले १३ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । पाकिस्तानका लागि हरिस रौफ र नसीम साहले तीन/तीन, मोहम्मद आमिरले दुई र शाहीन साह अफ्रिदीले एक विकेट लिए ।



यो जितपछि भारत समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उसले दुई खेलबाट चार अंक जोडेको छ । यस्तै, अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ ।  



  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया