logo-img

ढोरपाटनको पाखुट्टेदेखि बायखोला-झिम्पा जोड्ने सडक स्तरोन्नति, फेरिँदै स्थानीयको दैनिकी
फाइल तस्बिर

बागलुङको निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । वि.सं २०७३ मा साबिक तीनवटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो । 

चालू आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको ५० लाख र गण्डकी प्रदेश सरकारको ३० लाख रुपैयाँले सडकको स्तरोन्नति भएको हो । लोकमार्गको वैकल्पिक सडकका रूपमा ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि बायखोला–झिम्पा हुँदै निसी जोडिएको छ । करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका–२, ४ र ५ लाई जोडेको छ । 

वैकल्पिक निर्माणका लागि आठ वर्ष अगाडि निसी, बोहरागाउँ र देवीस्थान गाउँ विकास समितिले दुई/दुई लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडारबाट ७ लाख, जिल्ला विकास समितिबाट ८ लाखका लागतमा सडकको ट्रयाक खोलेको निसीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । ‘यो सडकले यस क्षेत्रका नागरिकको जीवनस्तरनै परिवर्तन गरि दिएको छ,’ उनले भने । यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए । वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रुपमा रहेको पौडेल बताउँछन् । 

‘ट्रयाक खुलेको धेरै वर्षपछि सडकको स्तरोन्नति हुन थालेको छ, म गाउँपालिकाको अध्यक्ष हुने बेलादेखि नै पालिकाबाट बजेट विनियोजन गरेर सडक चौडा गर्ने, नाली निर्माण र ठाउँ–ठाउँमा कल्भर्ट बनाउने काम भएको थियो, कम बजेटका कारण त्यस बेला स्तरोन्नतिले पूर्णता पाएको थिएन, अहिले प्रदेश र केन्द्र सरकारको सानो बजेटले काम भएको छ, यो सडक पूर्णरूपमा स्तरोन्नति भयो भने निसीखोलाका नागरिकलाई यातायात र सामान ढुवानीमा सहज हुनेछ,’ पूर्वअध्यक्ष पौडेलले भने । 

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले निर्माण कम्पनीले ९० प्रतिशत काम सकेको बताए । खापुट्टेस्थित मध्यपहाडी लोकमार्गको पुलदेखि माथिल्लो क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ । 

स्तरोन्नतिको जिम्मा पाएको सहस्रा कन्स्ट्रसन प्रालिले सडक फराकिलो बनाउने, ग्रेडिङ मिलाउने लगाएको काम गरेको अधिकारीले बताए । ५९ लाख १२ हजार तीन सय २६ रुपैयाँमा सम्झौता गरेको निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्नुपर्ने उनको भनाइ छ । रासस 





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया