logo-img

विश्वकप खेल्न वेस्ट इण्डिज पुगेपछि सन्दीपको प्रतिक्रिया : समर्थकको सपना पूरा गर्न तत्पर छु
फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने जारी आइसिसी टी–२० विश्वकपको दुई खेलका लागि वेस्ट इण्डिज पुगेका छन् । उनले सामाजिक सञ्जालमार्फत विश्वकपअन्तर्गतको दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलका लागि आफू वेस्ट इण्डिज पुगेको जनाएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि आज बिहान विज्ञप्तिमार्फत् सन्दीपले विश्वकपको दुई खेलमा उपस्थित हुने जनाएको छ । वेस्ट इण्डिज पुगेको जनाउँदै उनले आफ्नो सपना र सबै क्रिकेट प्रेमीको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन् ।

‘सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु,’ सन्दीपले भनेका छन्,‘ सबै कुरालाई पन्छाएर, म अब वेस्ट इण्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु । मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’ 

उनले आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झुटा प्रचारको पछि नलाग्न अनुरोध गरेका छन् । ‘कृपया मेरो भिसासम्बन्धी सबै झुटा प्रचारको पछि नलाग्नुहोस्, जुन मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन् । हाम्रा सबै क्रिकेट फ्यानहरू र  जसले मेरो लागि प्रार्थना गरे, म सधैं तपाईंको आशीर्वादको लागि आभारी रहनेछु,’ सन्दीपले लेखेका छ । 

उनले आइसिसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कसँगको समन्वयले टी–२० विश्वकपमा भाग लिन सम्भव भएको उल्लेख गर्दै क्यानका पदाधिकारीलाई समेत धन्यवाद दिएका छन् । जारी विश्वकपमा नेपालले पहिलो खेल खेलिसकेको छ । 

नेपालले गत मंगलबार भएको पहिलो खेलमा नेदरल्याण्ड्सँग ६ विकेटको हार बेहोर्यो । नेपालले अब दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ । त्यसपछि नेपाली टिम बाँकी दुईवटा खेल खेल्न क्यारेबियन देश सेन्ट भिन्सेन्ट प्रस्थान गर्नेछ ।    





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया