logo-img

पारस खड्काको चेतावनी- क्यानभित्रैका केहीले अराजकता फैलाउन खोजे, कानुनी उपचारमा जान्छु

नेपाल क्रिकेटको अभिभावकीय संस्था नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्काले संस्थाभित्रकै सदस्यहरूले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यस विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । 

सोमबार सचिव खड्काले पछिल्लो नौ महिनायता क्रिकेट भित्र आफ्नो नेतृत्वले गरेका केही सराहनीय कार्यको फलस्वरुप संस्था सही मार्गमा अघि बढिरहेको उल्लेख गर्दै संस्थाको हित नचाहने जिम्मेवार व्यक्तिहरूले आफू र संस्थाविरुद्ध अराजकता फैलाएको बताएका हुन् । उनले त्यस्ता गतिविधिविरुद्ध छानबिन गरी कानुनी कारबाहीमा जाने चेतावनी पनि दिएका छन् । 

‘कयौँ चुनौती र कठिनाइहरूलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैँमा महत्त्वपूर्ण छ । यद्यपि, यी सबैकाबीच संघका अध्यक्ष, सचिवलगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउँदै आफ्नो व्यक्तिगत लाभ र प्रयोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरूले हर सम्भव प्रयास गरिरहनु भएको कार्य दुःखद छ’ खड्काले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

खड्काले नेपाली क्रिकेटलाई खेलाडीका रूपमा आफ्नो लगानीको २० वर्षलाई स्मरण गर्दै नेपाललाई क्रिकेटिंङ राष्ट्रका रूपमा आत्मनिर्भर बनेको हेर्ने सबैको सपनालाई साकार पार्न आफू लागेको बताएका छन् ।

तर, पछिल्लो समय उनी र संस्थाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेको विषयलाई लिएर चर्को आलोचना भइरहेको बेला उनले आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् । तर, उनले व्यक्तिगत लाभका लागि आफ्नो र संस्थाको नाम बदनाम गर्न खोज्ने संस्थाभित्रकै सदस्यलाई भने कानुनी कारबाहीको दायरामा ल्याउने बताए । 

‘मैले २० वर्ष देशको लागि खेलाडीका रूपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आँच आउने गरी केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधार हीन वक्तव्यहरूको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानबिनसहित संस्थागत पद्धतिबाट छिट्टै नै कानुनी उपचार समेत खोजिने छ,’ सचिव खड्काले भनेका छन् । 



खड्काले व्यक्तिगत, राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई समर्थन गरिरहन समेत आग्रह गरेका छन् ।  



  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया