logo-img

देवकोटा माओवादीकै सांसद हुन्, उनलाई पार्टीकाे ह्विप लाग्छ : नेता चुमान

गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा माओवादी केन्द्रकै सांसद हुन् कि नेपाल समाजवादी पार्टीका सांसद हुन् भन्ने विषयमा विवाद देखिएकाे छ । देवकोटाले नेकपा (माओवादी केन्द्र)काे चुनाव चिह्नमा गाेरखाबाट निर्वाचित सांसद हुन् । 

उनले आफू नेपाल समाजवादी पार्टीकाे सांसद भएकाले माओवादी केन्द्रकाे ह्विप नमान्ने बताउँदै आएका छन् । तर, माओवादी केन्द्रले भने देवकाेटा माओवादी केन्द्रकाे चुनाव चिह्नमा निर्वाचित भएकाले पार्टीकाे ह्विप लाग्ने दाबी गर्दै आएकाे छ । 

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने प्रयोजनसहित जारी प्रदेशसभा बैठकमा भाग लिँदै यस्ताे दाबी गरे । 

उनले भने, 'यसपटक हामीले माननीय सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन सकिन्नँ । हामी सबै संसद्‌मा अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्ने भन्ने निर्णय भएको छ । ह्विप जारी गरिएको छ, त्यो सबैलाई लाग्छ ।'

देवकाेटाप्रति लक्षित गर्दै उनले भने, 'हाम्रो एकजना माननीय खै के-के भन्नुहुन्छ, तर गण्डकी प्रदेश माओवादी केन्द्रको संसदीय दलकै सदस्य नै हो उहाँ ।' 

देवकोटाले गत प्रदेशसभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्न हँसिया-हथौडाबाट लडेका थिए । उनले मुख्यमन्त्री पाण्डेलाई समर्थन गर्ने चर्चा भएपछि नेता चुमानले यस्तो दाबी गरेका हुन् ।



मुख्यमन्त्री पाण्डेको दल नेपाली कांग्रेससँग २७ मात्रै सांसद छन् । त्यसमा देवकोटासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित बहुमत पुर्‍याउने कोसिसमा मुख्यमन्त्री पाण्डे छन् । यदि देवकोटाले समर्थन नजनाए पाण्डे नेतृत्वको सरकार ढल्नेछ । 
 



  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया