logo-img

फणिन्द्र देवकोटा र दीपक मनाङे मन्त्री बन्दै, विश्वासकाे मतपछि देवकाेटाले के भने ?

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । स्वतन्त्र सांसदकाे हैसियत पाएका मनाङे र नेपाल समाजवादी पार्टीका सांसद देवकाेटालाई मंगलबार शपथ गराउने तयारी छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने भएका छन् ।

सोमबार प्रदेशसभामा विश्वासको मत लिएका मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटाले मत दिएका थिए । 

माओवादीकाे चुनाव चिह्नबाट चुनाव लडेकाले देवकोटालाई उक्त पार्टीकाे ह्विप लाग्ने भन्दै एमाले र माओवादीले प्रश्न उठाएका छन् । पार्टीकाे ह्विपविरुद्ध फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई मत दिएकाे भन्दै यी दुई पार्टीले केहीबेर प्रदेशसभामा हाेहल्ला गरेका थिए । 

विश्वासको मतपछि देवकोटाले के भने ? 

हामी सबैलाई थाह छ, गण्डकी प्रदेशको स्थिति अलि जटिलतातर्फ गयो । १४/१५ महिनामा चारपटक सरकार फेरबदलको स्थिति बन्यो । गण्डकी प्रदेश रहने कि नरहने चुनौती मैल देखेँ । पार्टीभित्र यसबारेमा धेरै छलफल गर्‍यौँ । अघिल्लो पटक खगराज माननीयलाई पहिलोपटक हस्ताक्षर गरेर समर्थन दिएका थियौँ । दोस्रो पटक केन्द्रीय राजनीतिमा परिवर्तन भयो । सुरेन्द्रराज पाण्डेलाई हस्ताक्षरसहित समर्थन दिएको थिएँ । त्यसपछि हामीलाई थाह नै नदिएर सरकार बनाउन चलखेल हुन थाल्यो । हामीलाई गम्भीर शङ्का लाग्यो, गण्डकी प्रदेश अब बरबादीतर्फ जाँदैछ । यो बारेमा पार्टीभित्र गम्भीरतापूर्वक छलफल भयो । घटनाक्रम विकसित हुँदै गयो । मुद्दा अदालतमा पुग्यो । सरकार बन्ने भत्किने क्रम बढ्यो । सरकारले बहुमत प्राप्त नगर्ने तर सधैँ फेरबदल हुँदै गयो । विश्वास र अविश्वासको प्रस्ताव प्रदेश सभामा आइरहने भयो । सबैभन्दा ठुलो कुरा प्रदेश र प्रदेश सभालाई स्थायित्व दिने कुरा थियो । त्यही आधारमा यहाँका राजनीतिक पार्टीहरूसँग बारम्बार छलफल गरेको थिएँ ।



सरकार बनाउन म मात्र निर्णायक थिइनँ । मैले भोट दिइरहँदा पनि सरकार बन्छ भन्ने आधार थिएन । मैले भोट दिँदा पनि सरकार बनेन  । स्थायित्व पाएन  । त्यसका लागि अन्य शक्ति पनि आउनुपर्थ्यो । मुख्यतः राप्रपा पनि आउनुपथ्र्यों । आज निर्णायक रूपमा रहेका अन्य पार्टी एकै ठाउँमा उभिएको स्थितिमा मैले र मेरो पार्टीले पक्षमा मतदान गर्दा गण्डकी प्रदेश सरकारले स्थायित्व पाउँछ । सरकार बचाउन सकिन्छ । मध्यावधिबाट रोक्न सकिन्छ । आर्थिक सङ्कट परेको अवस्थामा सरकार बचाउन सकिन्छ भनेर पार्टी केन्द्र र प्रदेश पार्टीको निर्णय मुताबिक माओवादी केन्द्रले ह्विप जारी गरेता पनि विश्वासको मत दिएँ ।

मेरो पार्टी नेसपा भएका कारणले कानुनले दिएको अधिकार प्रयोग गरेको हुँ । चुनावमा एकल चिन्ह रहेपनि मेरो परिचयपत्र र संसदीय दलले दिएको परिचयपत्र, प्रदेश सभाले दिएको परिचयपत्र र निर्वाचन आयोगको वेबसाइटमा पार्टीको नाम नेसपा रहेकाले पार्टीको निर्देशन अनुसार मतदान गरेको हुँ । 



  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया