logo-img

प्रचण्डको आत्मालोचना : राजदूत फिर्ता बोलाउँदा ध्यान पुगेन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राजदूत फिर्ता बोलाउँदा कमजोरी भएको भन्दै आत्मालोचना गरेका छन् । विशेष गरी आफ्नो भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको उनको स्वीकारोक्ति थियो । 

सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भए पनि ध्यान नपुगेको बताएका हुन् । 

सरकारले फिर्ता बोलाए पनि राजदूत शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले उनको प्रशंसा गरे । उनले भने, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु ।’

राजदूत फिर्ता गर्ने निर्णय त्यही बेला पर्नु संयोग भएको भन्दै उनले भने, ‘त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले संसद् विघटनका विषयमा दिएको अभिव्यक्तिलाई आफूले गम्भीर रुपमा नलिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । ओलीले यस्तो धारणा सधैँ राख्दै आएकाले पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई आफूले सामान्य रूपमा लिएको उनले बताए । सोही विषयले सरकारमा कुनै नराम्रो हुने स्थिति नआउने उनको दाबी छ । 

प्रधानमन्त्री दाहालले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई पार्टीले निलम्बन गर्ने बताए । नेकपा (माओवादी केन्द्र)ले ह्विप जारी गरिसकेको अवस्थामा देवकोटाले फ्लोर क्रस गरेर कांग्रेसका मुख्यमन्त्रीलाई मत दिनु संविधान र कानुनको मर्मविपरीत रहेको उनको जिकिर थियो । 





  • प्रकाशित मिति : जेठ २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया