logo-img

विश्वकप छनोटमा यमनसँग भिड्दै नेपाल, गोलको खडेरी तोड्ने माैका
१००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै किरण

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटमा नेपालले आज यमनसँग खेल्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ११ः४५ देखि साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा सुरु हुनेछ । 

नेपाल विश्वकपको दोस्रो चरणमा पहिलो जितको खोजीमा छ । नेपालले यसअघि खेलिएको पाँचवटै खेलमा पराजय बेहोरेको छ । छनोट चरणको होम म्याचमा यमनसँग नेपाल २–० ले पराजित भएको थियो ।

यस्तै, यूएईसँग नेपाल दुवै खेलमा समान ४–० ले पराजित भयो । नेपाल बहराइसँगको पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले स्तब्ध भएको थियो । विश्वकप छनोटको दोस्रो चरणमा नेपाली खेलाडीले एउटा गोल पनि गर्न सकेका छैनन् ।

नेपालले अहिलेसम्म प्रतिस्पर्धा गरेको पाँच खेलमा १८ गोल खाँदा एउटा पनि फर्काउन नसकेको हो । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल समूह ‘एच’ को पुछारमा छ । 

यमनविरुद्ध पहिलो जितको खोजीमा नेपाल 



हालसम्म यमनविरुद्ध नेपालले जित निकाल्न सकेको छैन । नेपालले पाँचमध्ये चार अन्तर्राष्ट्रिय खेलमा यमनविरुद्ध जित निकाल्न नसकेको हो । यी दुई टिमले एक खेल भने बराबरी खेलेका छन् ।  



यी दुई टिमले पहिलोपटक सन् २००० मा एकअर्काको सामना गरेका थिए, जहाँ यमनले नेपाललाई ३–० ले हरायो । यस्तै, सन् २०१४ को दोस्रो भेटमा यमनसँग नेपाल ३–० ले पराजित भयो । सन् २०१७ को एसिया कप छनोटमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्यो ।

सन् २०१८ मा भएको खेलमा यमनले नेपाललाई २–१ ले हरायो । पाँच महिनाअघि भएको पाँचौं भेटमा यमनसँग नेपाल २–० ले पराजित भयो । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो । 

१००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै किरण 

नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १००औँ खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् ।  ३४ वर्षीय किरणले नेपालबाट सर्वाधिक खेल खेल्ने कल्पना नगरेको प्रतिक्रिया दिए । 

‘देशको प्रतिनिधित्व गर्दै सय खेल खेल्छु भनेर सोचेको थिइनँ । फर्ममा रहँदासम्म कति खेल्न सक्छु भनी यात्रा सुरु गरेको थिएँ,’ किरणले भने, ‘म अहिले टोलीसँग रमाइलो गरिरहेको छु ।’ 

किरणले २४ मे २००८ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।  

  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया