logo-img

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप, ६ हजार रुख काटिने
फाइल तस्बिर

काँक्रेविहार-कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता १६ पुस २०८१ सम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । ७० करोड रुपैयाँमा ठेक्का पाएको भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुवात गरेको थियो ।

आयोजना निर्माणका लागि ६ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताए । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताए ।

१५ असार २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार रुखमा छपान कार्य भने सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुन सकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्पसमेत मागेका हुन् ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ । पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माणकार्यले गति नलिँदा कर्णालीमा विद्युतको समस्या जहाँको तहीँ छ ।

हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । १ सय ५ वटा फाउन्डेसन निर्माण गरिएको छ भने १० वटा फाउन्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।



४ सय केभी निर्माण गर्ने सरकारको उद्‍घोष

सरकारले आगामी आवबाट चार सय केभी प्रसारण लाइन निर्माण सुरु गर्ने बताएको छ । भेरी र कर्णाली करिडोरामा चार सय केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको लक्ष्य छ । चार सय केभी प्रसारण लाइन १ सय ५० केभी प्रसारण लाइनमा ल्याएर जोडिने छ ।



नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माण भएमा उक्त विद्युत् मैनतडास्थित चार सय केभीको सबस्टेशनमा जोडिने लक्ष्य लिएको छ। नलगाडको पीपीए नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशसँग भइसकेको छ ।   

जगदुल्लाको पिपीए बाफीकोटस्थित सबस्टेशनमा भए पनि पुनः दानीपिपलस्थित ४ सय केभीको सबस्टेशनमा हुने भएको छ । त्यस्तै, कर्णाली कोरिडोर हुँदै चार सय केभी प्रशारण लाइन निर्माण हुनेछ । साविकको कर्णालीलगायत अन्य दैलेखलगायतका जिल्लामा विद्युतीकरण गर्न यो काम हुने भएको हो ।

भेरी करिडोरमा निर्माण हुने ४ सय केभी प्रसारण लाइन डबल सर्किटको छ । २ हजार ५ सय मेगावाट विद्युत् यही प्रसारणमार्फत जोड्ने लक्ष्य छ । एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवालीले बताए ।

३२ केभीले कर्णाली हैरानीमा

पटकपटक विद्युत् अवरोध हुँदा कर्णालीमा हैरानी भएको छ । ३२ केभी प्रसारण लाइनको विद्युत् पुराना भएकाले पटकपटक समस्या आउने गरेको छ। दिनमा कम्तीमा सातपटकभन्दा बढी अवरोध हुँदा समस्या हुने गरेको हो ।

हावापानी चल्नेबित्तिकै पूरै लाइन अवरुद्ध हुने गरेको छ । कर्णालीका उद्योगी, व्यवसायी विद्युतको मारमा परेका छन् । बत्ती आइहाले पनि ‘लो भोल्टेज’ का कारण काम गर्न गाह्रो हुने गरेको वीरेन्द्रनगर नगरपालिका–१० का मोहनजंग शाहीले जानकारी दिए ।

उनले भने, ‘बत्ती आए पनि पङ्खा घुम्दैन, पानी तान्ने मोटर नै चल्दैन ।’ रासस 

  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया