logo-img

भारतीय विदेशमन्त्रीमा फेरि जयशंकर, अरू मन्त्रालयमा को ?

चुनावी परिणामले सबैलाई भाग पुर्‍याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा ठूलो मन्त्रिपरिषद् गठन गरे । भारतीय इतिहासमै लगातार चुनाव जितेर तेस्रोपटक प्रधानमन्त्री हुने दोस्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

जबकी विगतमा उनको दल भारतीय जनता पार्टीले बहुमत ल्याउँदा मोदी मन्त्रिपरिषद् सन् २०१४ मा ४६ र सन् २०१९ मा ५२ सदस्यीय मात्रै थियो । यसपटक बहुमत नपाएकै कारण उनी सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गर्न बाध्य भए । मोदीले शक्तिशाली मन्त्रालयमा पुरानै नेतालाई दोहोर्याएका छन् । 

प्रधानमन्त्री मोदीले सोमबार अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै, उनले राजनाथ सिंहलाई रक्षा र निर्मला सीतारमणलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिएका छन् । 

नेपालले चासोका साथ लिएको विदेश मामिला मन्त्रालयमा पनि डा. एस जयशंकर दोहोरिएका छन् । जयशंकर यसअघि पनि विदेशमन्त्री नै थिए । प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषदमा नयाँ प्रवेश गर्नेमध्ये शिवराज सिंह चौहानलाई कृषि तथा ग्रामीण विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । चौहान मध्य प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । 

मोदीले भाजपाका अध्यक्ष जेपी नड्डालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा फर्काएका छन् । उनी मोदीको पहिलो कार्यकालमा पनि स्वास्थ्यमन्त्री थिए । त्यस्तै, यातायात मन्त्रीमा नितिन गडकरी दोहोरिएका छन् । हरियाणाका पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टरलाई शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । अश्विनी वैष्णवले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

त्यस्तै, धर्मेन्द्र प्रधान शिक्षामन्त्री बनेका छन् । पियुष गोयलले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री मोदीले किरेन रिजिजुलाई संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अर्जुनराज मेखवाललाई कानुन मन्त्रालयकै जिम्मेवारीमा दोहोर्याएका छन् । भूपेन्द्र यादव बातावरण मन्त्रालयको जिम्मेवारीमा आएका छन् । 



एचडी कुमारस्वामीले ठूला उद्योग मन्त्रीको जिम्मेवारी पाएका छन् भने जितनराम माझीले साना तथा मझौला मन्त्रालय दिइएको छ । कुमारस्वामी जेडी सेक्युलर दलबाट हुन् भने माझी एचएएम सेक्युलरबाट मन्त्री बनेका हुन् । 

त्यस्तै, जनता दल संयुक्तका लालन सिंहलाई मत्स्यपालन तथा पशुपालन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, टीडीपीका राममोहन नायडुलाई नागरिक उड्डयन मन्त्रालय र एलजेपीका नेता निराग पासवानलाई खाद्य प्रशोधन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 



त्यस्तै, सीआर पाटिलले जलशक्ति मन्त्रालय पाएका छन् । गजेन्द्रसिंह शेखावत संस्कृति र पर्यटन मन्त्री बनेका छन् । गृहमन्त्री अमित शाहले सहकारी मन्त्रालय र अर्थमन्त्री सीतारमणले कर्पोरेट मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । 

वीरेन्द्र कुमारलाई सामाजिक न्याय तथा जुआल ओरमलाई जनजाति मामिला मन्त्री बनेका छन् । प्रधानमन्त्री मोदीले प्रल्हाद जोशीलाई उपभोक्ता मामिला, जी किशन रेड्डीलाई खानी र गिरिराज सिंहलाई ग्रामीण विकास तथा पञ्चायतको जिम्मेवारी दिइएको छ । यस्तै, अन्नपूर्ण देवी महिला तथा बालविकास मन्त्री बनेकी छन् । 

आरएलडी नेता जयन्त चौधरीलाई सीप विकास र उद्यमशीलता मन्त्रालय तथा शिवसेना नेता जाधव प्रतापराव गणपतरावले आयुष मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  

  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया