नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।
सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्यान्ह १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिए ।
यस्तै, सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ । अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखा समिति निर्वाचित गर्नेछ ।
अधिवेशनमा ५ सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।