logo-img

नेपालले विश्वकपको दोस्रो खेल श्रीलंकासँग खेल्ने

आइसिसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दै छ । 

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंका पहिलोपटक आमनेसामने हुन लागेका हुन् । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै आफनो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ । 

त्यसैगरी, लगातार दुई खेलमा पराजित श्रीलंकाले पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि पनि बाँकी खेल जित्नुपर्ने दबाब छ । विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली अर्को चरणमा पुग्ने प्रावधान  छ । 

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता, श्रीलंकाको दक्षिण अफ्रिकासँग छ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

 नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलंकाविरुद्धको खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताए । उनले विश्वकप क्रिकेट प्रतियोगितामा एसोसिएट राष्ट्रले पनि टेस्ट राष्ट्रलाई पराजित गरेको इतिहास रहेको भन्दै आफ्नो टोलीले उच्च मनोबलका साथ श्रीलंकाविरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरे । 

विश्वकप अघि नेपालले फ्लोरिडामै क्यानडाविरुद्ध एक अभ्यास खेल खेलेको थियो । जसमा नेपाल क्यानडासँग पराजित भएको थियो । 



फ्लोरिडामै श्रीलंका भने दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग हारेको श्रीलंकाले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । यसअघि नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको थियो । 

घरेलु मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै दोस्रोपटक विश्वकपमा स्थान पक्का गरेको थियो । 



  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया