logo-img

भरतताल भ्रष्टाचार : बाग्मतीका नगरप्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

३० करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध मुद्दा दायर गरेको हो । 

विशेष अदालत काठमाडौंमा मंगलबार दायर आरोपपत्रमा आयोगले बागमती नगरपालिका–४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएको उल्लेख गरेको छ ।

सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा परियोजना र संघीय सरकारको स्वीकृतविना अनधिकृत रुपमा माछा पोखरी निर्माणका लागि भनी ढुंगा गिट्टी बालुवा (वन पैदावार) उत्खनन गर्नका लागि प्रारम्भिक परीक्षण प्रतिवेदन (आइइई) स्वीकृत भएको भन्ने गलत लिखत तयार पारेर अनधिकृत काम गरेको आरोपपत्रमा छ । 

आयोगका अनुसार बागमती नगरपालिकाबाट उक्त माछापोखरीको डिपिआर तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृतसमेत नगराई, बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई, माछापोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना नेपाल सरकारको स्वीकृतविना ३९ लाख ७३ हजार १ सय ९१ घनमिटर उत्खनन गरेको पाइएको छ । उत्खखनबाट निस्किएको नदीजन्य पदार्थको हिसाबमा अनियमितता गरेको पाइएको पनि आयोगले जनाएको छ । 

नेपाल सरकार, प्रदेश, स्थानीय तह/सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना, दुरुपयोग गरेको भन्दै आरोपितविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुरमा सजायको मागदाबी आयोगले गरेको छ । 



आयोगले यसअघि स्रोत नखुलेको सम्पत्ति पाइएको भन्दै गत चैत अन्तिम साता मुद्दा दायर गरेपछि नगरप्रमुख थापा पदबाट निलम्बित छन् । उनीविरुद्ध मंगलबार दायर दोस्रो मुद्दा हो । अघिल्लो मुद्दामा ५ करोड ३३ लाख रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दायर गरेको थियो । 
 



  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया