logo-img

कान्तिको कन्तबिजोग : बिरामीको चाप थेग्नै मुस्किल
०५२ सालदेखि ३० शय्याकाे भरमा सर्जरी विभाग

गत वर्ष भदौ १८ गते (०८०) मकवानपुरकी थाहा नगरपालिकाको–१० की पाँच वर्षीया रेजिशा गोपालीको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दाकुर्दै मृत्यु भयो । उपचारका लागि पालो कुरेर बस्न घण्टौँ लाइन बस्नुपर्ने र अस्पतालको ओपिडी सेवा दिँउसो १ बजे बन्द हुने भएकाले उनलाई परिवारले इमर्जेन्सीमा पुर्याएका थिए । दुई घण्टासम्म कुर्दा पनि इमर्जेन्सीमा कुनै उपचार नपाएपछि साँझ ७ बजे रेजिशाले हजुरबुबाको काखमा प्राण त्याग गरिन् । ​रेजिशालाई उच्च ज्वरो आउने, बान्ता हुने भएपछि दिउँसो ५ बजे कान्तिको इमर्जेन्सी कक्ष पुर्याइएको थियो । तर, समयमै उपचार नगर्दा बालिकाको ज्यान गएको आफन्तले जनाएका थिए ।

कान्ति बाल अस्पताल नेपालको केन्द्रीय बाल अस्पतालका रूपमा रहेको छ । यस अस्पतालको अवस्था रेजिशाको मृत्युले पनि उजागर गरिसकेको छ । उनीजस्तै हजारौँ बालबालिका कान्ति बाल अस्पतालमा उपचारका लागि आउने गरेका छन् । कति बालबालिकाले बल्लतल्ल पालो पाएर उपचार पाउँछन् कतिको पालो कुर्दाकुर्दै उपचार नपाएर मृत्यु हुने गरेको छ । पालो नपाएकै कारण कतिपय महँगो शुल्क तरिेर निजी स्वास्थ्य संस्थामा उपचार गराउन बाध्य छन् । 

तत्कालीन सोभियत संघ सरकारको सहयोगमा वि.सं. २०१९ पुस २२ गते कान्ति बाल अस्पतालको स्थापना भएको हो । आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले कान्ति बाल अस्पताल स्थापना गरेका हुन् । 

सन् १९८४ मा तत्कालीन जापानी प्रधानमन्त्री रियोतारो हासिमोतोले भ्रमण गरेपछि प्राप्त जापानी आर्थिक सहयोगबाट अस्पतालको गुणस्तर र भौतिक संरचनामा केही सुधार भएको पाइन्छ । तर, देशभरका बालबालिका उपचारका लागि आउने भएकाले अस्पतालको स्रोतसाधन पर्याप्त हुन सकिरहेको छैन । पछिल्लो समय त अस्पतालको अवस्था कन्तबिजोज नै छ भन्दा अनुचित नहोला ! 

अन्य विभागमा केही सुधार भएको भए पनि शल्यक्रिया विभागमा भने कुनै परिवर्तन नभएको बताउँछन्, शल्यक्रिया विभागका प्रमुख डा. विजय थापा । १८ वर्षदेखि कान्ति अस्पतालमा काम गर्दै आइरहेका डा. थापा भन्छन्, ‘सर्जरी विभाग शय्या तथा पूर्वाधारका हिसाबले सुरुवातका दिनमा जहाँ थियो, अहिले पनि त्यहीँ नै छ ।’ 

०५२ सालमा ३० शय्याको सर्जरी विभाग बनाइएको र आजसम्म पनि शय्या संख्यामा कुनै परिवर्तन नभएको डा. थापाको गुनासो छ । भन्छन्, ‘ओपिडीमा करिब एकसयको हाराहारीमा बिरामी आउँछन् । शल्यक्रिया हरेक दिन १५–२० बालबालिकाको हुन्छ । त्यसकारण शय्या र पूर्वाधारको अभावमा शल्यक्रियाका लागि पालो पाउनै मुस्किल पर्छ ।’ 



उनका अनुसार ०५२ सालमा बनेका दुई अप्रेसन थिएटरको भरमा कान्ति चलिरहेको छ । हाल पालोमा रहेका अधिकांश केस जनरल अप्रेसन गर्नुपर्ने बढी छन् । त्यस्तै, पिसाब, पित्तथैली, हाइड्रोसिललगायत समस्याको अप्रेसनका लागि ६ महिना पालो कुर्नुपर्ने बताउँछन् डा. थापा । ‘कान्तिमा अप्रेसन कक्षको चरम अभावका कारण शल्यक्रिया अपेक्षाअनुसार नभएको हो । बीचमा इमर्जेन्सी परेमा वा समस्या परेमा तत्काल अस्पताल आउन आग्रह गरेका हुन्छौँ,’ उनले भने, ‘सर्जनहरू पर्याप्त छन्, उपकरण र थिएटर उपलब्ध भए लाइनको अवधि घटाउन सकिन्छ ।’



कान्तिमा विभिन्न रोगको शल्यक्रियाका लागि बालबालिका ०८२ असोजसम्म लाइनमा छन् । इमर्जेन्सीबाहेकका शल्यक्रिया गर्न पालोमा राखिएका यी बिरामीको स्वास्थ्यमा आउने जटिलताको कुनै हिसाब नै छैन । पर्याप्त जनशक्ति उपलब्ध भए पनि शल्यक्रियाका लागि अप्रेसन थिएटर र स्थान अभावका कारण अप्रेसनको पालो कुर्नुपरेको अस्पतालले जनाएको छ ।

कान्तिको कन्त बिजोग !

सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीले चाहेका बेला मिति पाउनु दुर्लभजस्तै छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा पनि सरकारी अस्पतालमा बिरामीले सेवा लिन लामो समय कुनुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।

देशको एक मात्र बाल अस्पताल कान्तिमा जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था रहेको उल्लेख छ । ‘कान्ति बाल अस्पतालमा सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष, जटिल तथा हाइड्रोशिलको शल्यक्रिया गर्न ६ महिनादेखि २ वर्षसम्म पालो पर्खनुपर्ने अवस्था छ,’ महालेखाको प्रतिवेदनमा छ ।

विकासोन्मुख राष्ट्रको सरकारी अस्पतालको अवस्था हेर्दा देशका जनताले के महसुस गर्छन् होला, त्यसतर्फ सरकारको ध्यान गएको पाइँदैन । ठूला सरकारी अस्पतालमा शल्यक्रियाका लागि दुई वर्षसम्म पालो कुर्नुपर्ने जनगुनासो बढेपछि ०७९ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक महिनाभित्रमा लाइन घटाउन निर्देशन दिएका थिए । उनले अस्पतालको पालोमा बस्दा देखिने स्वास्थ्य जटिलता कम गर्न एक महिनाभित्र अस्पतालको लाइन नघटाए जिम्मेवार पदाधिकारीलाई कारबाही हुने चेतावनीसमेत दिएका थिए । तर, उनको चेतावनी, चेतावनीमै सीमित रहेको तथ्य कसैबाट पनि लुकेको छैन । 

कान्ति अस्पतालमा बढ्दो चापलाई कम गर्न विस्तारित स्वास्थ्य सेवा (इएचएस) सञ्चालन गर्न आवश्यक रहेको डा. थापा बताउँछन् । ‘यसका लागि एउटा अप्रेसन थिएटरका साथै वार्ड बनाइयो भने शल्यक्रियाका लागि पालो कुर्नुपर्ने समस्या केही हदसम्म कम हुन्छ,’ उनी भन्छन् । 

उनका अनुसार दुई वर्षअघि इएचएस सेवा सञ्चालन हुँदा राम्रो प्रतिक्रिया आएको थियो । यही संरचनालाई थोरै परिमार्जन गरेर इएचएस सेवा सञ्चालनमा आउँदा अस्पताल, चिकित्सक, नर्स, बिरामीलगायत सबैलाई राहत मिल्ने उनको भनाइ छ । 

तत्कालै शल्यक्रिया कक्ष बढाएर सेवा सुरु गर्दासमेत अस्पतालमा अहिले रहेको जनशक्तिले धान्न सक्ने अवस्था रहेको डा. थापा बताउँछन् । ‘तत्कालका लागि शल्यक्रिया कक्ष बढाउने, बेड संख्या विस्तार गर्ने तथा भइरहेको शल्यक्रिया कक्षलाई पुनर्निर्माण गरेमा समस्या हल हुने उनको सुझाब छ । 

यस्तै, कान्ति बाल अस्पतालमा शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था घटाउनका लागि विस्तारित स्वास्थ्य सेवा एक विकल्प हुनसक्ने अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश जोशी बताउँछन् । शल्यक्रियाको समय कुरिरहेका बिरामीलाई निजी अस्पताल भन्दा सस्तो विकल्प इएचएस सेवा बन्न सक्ने डा. जोशीको बुझाइ छ । 

सरकारी अस्पतालमा शल्यक्रियाका लामो समयसम्म कुर्नुपर्ने समस्याको निराकरणका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो । समितिले शल्यक्रियाका लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यतामा समस्या पहिचानका लागि अस्पतालका वरिष्ठ सर्जनहरूसँग छलफल समेत गरिसकेको जनाइएको छ । गठन गरिएको समितिले कति प्रभावकारी रूपमा काम गर्छ, त्यसको नतिजा आगामी दिनमा अवश्य नै देखिनेछ । 

  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया