logo-img

नेकपा एसको युवा संघमा विवाद : माधव नेपालका भान्जासहित तीनजना निष्कासित

एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा पार्टी निकट युवा संघ नेपालमा विवाद चर्किएको छ । युवा संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको जिम्मेवारीबाट निष्कासन गरिएको जनाएको छ ।

उनीहरुले पार्टीको समूहले विधि, विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि फैलाएको आरोप लगाइएको छ । पार्टीले गत भदौ दोस्रो साता संघ अध्यक्षबाट नरेश शाहीलाई बिदा गर्दै कृष्ण विकलाई संयोजक तोकेको थियो । 
तर, पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका थिए । भेलाबाट पौडेल समूहका संयोजक नितेश पौडेल र सहसंयोजकको जिम्मेवारी फुर्वा लामाले पाएका थिए । 

सहसंयोजक पौडेलले समानान्तर कमिटी घोषणा गर्नु संगठनमा व्यक्तिवाद प्रकट भएको युवा संघले जनाएको छ । पत्रकार सम्मेलनमा युवा संघ नेपालका कार्यालय सदस्य धर्म शाहीले समानान्तर कमिटी गठन गरेकोमा पौडेललाई आत्मआलोचना गर्न निर्देशन दिएको भए पनि आफैले आफैलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत गरेको बताए । 

‘सम्मेलन गर्न आफ्नै विधि र व्यवस्था छ । कमिटी, संगठन नेतृत्व छ । सबै विषयलाई लत्याएर अवैधानिक भेलालाई रोक्न संगठन र पार्टीले गरेको निर्णयलाई समेत अवमूल्यन गरेर आफैले आफैलाई नेता घोषणा गर्ने लज्जास्पद हर्कत क्षम्य हुँदैन । यस हर्कतले हामीलाई गम्भीरतापूर्वक सोच्नुपर्ने बनाएको छ,’ उनले भने, ‘यस्ता गतिविधि निरन्तर हुन थालेपछि कार्यालय कमिटीको बैठकबाट विधानमा भएको व्यवस्थाअनुरुप सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ । र, यसको जानकारी पार्टीलाई पठाइसकिएको छ ।’

संयोजक विक पार्टीका नेता झलनाथ खनालनिकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । 





  • प्रकाशित मिति : जेठ २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया