logo-img

भीम आचार्यको माग : क्यानको नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गरौँ
फाइल तस्बिर

नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले आइसिसी टी–२० क्रिकेट प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा धारणा राख्दै उनले विश्वकपमा आर्थिक अनियमितता भएको समाचार आएका भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न आयोग गठन गर्न माग गरेका हुन् ।

‘अमेरिकामा बस्ने नेपालीबाट अवैधरूपमा चन्दा उठाइ क्यानको खातामा नराखी दुरुपयोग गरेको भन्ने गुनासो आएको छ, आइसिसी टी–२० विश्वकप प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ, त्यो नेपालको शिर निहुराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशीघ्र छानबिन गरोस्, दोषीमाथि कारबाही गरोस्,’ सांसद आचार्यले भने ।  

उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानबिन गर्नुपर्ने बताए । सांसद आचार्यले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए ।

‘अमेरिका र वेस्ट इण्डिजको संयुक्त आयोजनामा टी–२० विश्वकप क्रिकेट प्रतियोगिता चलिरहेको छ । टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन् । खेलाडीको साख बेचेर, खेलाडीलाई होटलमा उभ्याएर चन्दा उठाएर दुरुपयोग गरिएको भन्ने गुनासो आएको छ । अवैधरूपमा जर्सीहरू अमेरिका लगेर नेपालीलाई महङ्गोमा बिक्री गरेको र त्यो रकम पनि हिनामिना गरेको भन्ने गुनासा आएका छन् । खेलाडीले हस्ताक्षर गरेका ब्याट र टिसर्ट मर्यादाहीन ढंगले बिक्री गरी हिनामिना गरेको भन्ने कुरा पनि आएका छन्,’ सांसद आचार्यले भने ।

उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको टिप्पणीसमेत गरे ।  





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया