logo-img

राजदूत फिर्तीको निर्णयले नयाँदिल्लीमा प्रधानमन्त्री र राजदूतलाई परेको थियो सकस

प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँदिल्लीको उच्च कोटीको वातानुकूलित होटेलमा पनि चिटचिट पसिना छुट्यो । परिवेशको तापक्रम त नियन्त्रणमै थियो तर आन्तरिक गर्मीले भने उनलाई सताएको थियो, जसलाई नियन्त्रण गर्न प्रधानमन्त्री दाहाललाई धौधौ परेको लाग्यो ।

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन उनको शपथ ग्रहण समारोहका अतिथि थिए दाहाल र पुगेका थिए नयाँदिल्ली । नयाँदिल्ली जानुअघि मात्र दाहालले अध्यक्षता गरेको मन्त्रीपरिषद्ले ११ कूटनीतिज्ञलाई काठमाडौं फिर्ता बोलाएको थियो, जसमा नयाँदिल्लीमा रहेका नेपालका राजदूत शंकर शर्मा पनि परेका थिए । 

जुन देशका नयाँ प्रधानमन्त्रीलाई बधाई दिन दुई दिन पछि जानुपर्ने छ, त्यही देशमा रहेका आफ्नो देशका कूटनीतिक प्रतिनिधिलाई फिर्ता बोलाइसकिएको छ । यो आफैँमा विरोधाभास थियो स्वयं सरकारले नै सिर्जना गरेको थियो आफैँ विरुद्ध कूटनीतिक एम्बुस । कूटनीतिक अर्थमा यो त असन्तुष्टि प्रकट गरेको, विरोध गरेको वा आपत्ति प्रकट गरेको जस्तै घटना थियो नयाँदिल्लीस्थित नेपाली राजदूत फिर्ता बोलाइनु ।

पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्का यसलाई सरकारको अति अदूरदर्शी कार्य भन्न रुचाउँछन् । ‘सत्तामा नेतृत्व परिवर्तन भएपछि अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने चलन पुरानै हो, यो परम्परा जस्तै बनिसकेको छ । मौका पाउँदा सबैले यस्ता काम गर्दै नै आएका छन् तर यस पटक भने प्रधानमन्त्री दाहाल नराम्ररी चुक्नुभयो’ संसदको अन्तर्राष्ट्रिय समितिका सदस्य खड्काले भने ।

फिर्ता बोलाइएका राजदूत शंकर शर्माले पनि आफूलाई नयाँदिल्लीमा कूटनीतिक सकस परेको निकटस्थसँग सुनाएका छन् । ‘मलाई फिर्ता आऊ भनेर निर्णय गर्ने सरकारका नेता प्रधानमन्त्री नयाँदिल्ली आइरहेका छन्, शपथग्रहण समारोहमा जानु कि नजानु म बडो धर्मसंकटमा परेँ’ शर्मालाई उद्धृत गर्दै एक पूर्व राजदूतले नेपाल भने, ‘वास्तवमा सरकारको अपरिपक्व निर्णयका कारण प्रधानमन्त्री र राजदूत दुवै जना नयाँदिल्लीमा पानी पानी हुनुपर्‍यो ।’ ‘दुवै जनाले जसोतसो अनुहार रातोपिरो पारेर भए पनि कूटनीतिक सङ्कट टारे’ ती पूर्व राजदूतले टिप्पणी गरे ।

सरकारले २४ जेठ बिहीबार ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो । मन्त्रिपरिषद्को भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाएको थियो ।



उनीहरू नेपाली कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेका थिए । अघिल्लो गठबन्धनका बेलामा राजदूत नियुक्त भएकालाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।

नयाँदिल्लीबाट फर्किएपछि प्रधानमन्त्री दाहालले विमानस्थलमा राजदूत फिर्ता बोलाउने निर्णयप्रति पछुतो मानेका थिए । २४ घण्टा नयाँदिल्ली बसेर फर्किएपछि दाहालले कूटनीतिक त्रुटिको असर रामैसँग महसुस गरेको देखियो ।  



  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया