logo-img

भारतीय प्रधानमन्त्री मोदी इटाली प्रस्थान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७) शिखर सम्मेलनमा भाग लिन इटाली प्रस्थान गरेका छन् । 

जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा भारतलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सका साथै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले भाग लिनेछन् । 

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले प्रधानमन्त्री मोदीलाई जी–७ शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गर्नुभएको थियो । यो सहभागिता जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र जी–७ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ । शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–७ र आमन्त्रित राष्ट्र साथै अन्तर्राष्ट्रिय संस्थाका नेतासँग द्विपक्षीय बैठक र छलफल गर्ने अपेक्षा गरिएको छ । 

विदेशसचिव क्वात्राका अनुसार प्रधानमन्त्री मोदीले आफ्ना इटालियाली समकक्षी जर्जिया मेलोनीसँग पनि द्विपक्षीय बैठक गर्ने अपेक्षा गरिएको छ । एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विदेश सचिव विनय क्वात्राले लगातार तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्री मोदीको यो पहिलो विदेश भ्रमण भएकाले महत्त्वपूर्ण रहेको बताए । 

क्वात्राका अनुसार जी–७ शिखर सम्मेलनमा विशेषत आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा, अफ्रिका र भूमध्यसागरको अवस्थाबारे छलफल गरिनेछ । १ जनवरीमा इटालीले सातौँ पटक जी–७ को अध्यक्षता ग्रहण गरेको थियो । राष्ट्रहरू अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत जी–७ सदस्य राष्ट्र हुन्। 

सात सदस्य राष्ट्रका नेताहरू, साथै युरोपेली परिषद्का अध्यक्ष र युरोपेली सङ्घको प्रतिनिधित्व गर्ने युरोपेली आयोगका अध्यक्षले जी–७ शिखर सम्मेलनमा भाग लिनेछन् । 



भारत, टर्की र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसहित धेरै राज्यहरूलाई पनि इटालीले जी–७ शिखर सम्मेलनमा आमन्त्रित गरेको छ ।  



  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया