logo-img

कांग्रेस नेता प्रदीप पौडेल र मेयर बालेनबीच भेटघाट, के भयो कुराकानी ?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बिहीबार भेटघाट भएको छ । भेटमा कांग्रेस सांसद पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको जानकारी दिए ।

भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नुपर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो । 

बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी–धोवीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ । भेटमा पौडेल र बालेनबीच काठमाडौं महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरूका बारेमा पनि छलफल भएको थियो । 

टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारी दिए ।

त्यस्तै, काठमाडौं महानगरपालिका र क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुईबीच छलफल भएको छ । 

‘हामीबीच समस्त काठमाडौं महानगरपालिका तथा महानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधा सम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो,’ पौडेलले भने । 





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया