logo-img

देशका लागि आवश्यक मुद्दाहरूमा सहमति आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि आवश्यक न्यूनतम मुद्दाहरूमा सहमति कायम गर्नुपर्ने बताएका छन् । 

डिआर पौडेलको पाँचौँ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास नहुने भन्दै राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । 

उनले भने, ‘एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास हुँदैन, न्यूनतम सहमति कायम गरौँ मेरो सबैलाई अपिल छ । कम्तीमा राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गरौँ । नेपालको विकास र समृद्धि आजको प्रमुख कार्यभार हो भने त्यसको लागि आवश्यक न्यूनतम मुद्दाहरूमा सहमति कायम गरे मात्र देश बन्छ ।’  

उनले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्नुपर्ने भन्दै त्यसको लागि पनि राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । उनले भने, ‘हामीले सङ्क्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ, अथवा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरू पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ । यो कामलाई अब बाँकी राख्नु हुँदैन । राष्ट्रिय सहमति कायम गरेर हामीले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्छ ।’ 

भूराजनीतिक संवेदनशीलताका चुनौतीहरूको बीचमा सम्भावना समातेर अगाडि बढ्नु पनि आजको राष्ट्रिय कार्यभार भएको पनि उनको भनाइ छ । 

उनले भने, ‘नेपालको भूराजनीतिक अवस्थाको कारणले देखा परेको भूराजनीतिक संवेदनशीलताका चुनौतीहरूको बीचमा हाम्रो राष्ट्रिय सार्वभौमिकता, स्वाधीनताको रक्षा गर्नु त्यति सहज छैन । एकातिर सम्भावनाहरू पनि छन् तर चुनौती पनि गम्भीर छन् । त्यस कारण त्यो चुनौतीहरूलाई चिर्दै सम्भावना समातेर अगाडि बढ्नु आजको हाम्रो पहिलो राष्ट्रिय कार्यभार हो । त्यसमा हामीले ध्यान दिनुपर्छ ।’ 





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया