logo-img

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री : कुन - कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, अगाडि बढौँ
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योगहरू पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो भएको छलफलमा उनले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धराशायी भएको बताए । 

उनले भने, ‘विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ । ती उद्योगमध्ये केही उद्योगहरू पुनः सञ्चालन गर्न सकिने सम्भावना पनि छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौँ । त्यसैले कुन कुन उद्योगहरू पुनः सञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौँ । अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौँ ।’

दाहालले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योगहरू पुनः सञ्चालन गर्ने नीतिमा राज्यका सबै निकायहरू प्रस्ट हुनुपर्ने बताए । ‘विगतको जस्तै ढाँचा र ढर्रामा उद्योगहरूको पुनः सञ्चालन हुन सक्दैनन् । सार्वजनिक–निजी साझेदारीको मोडेल नै ती उद्योगहरू सञ्चालन गर्ने मोडेल हो । बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूको सम्भाव्यता बलियो छ । त्यसैले व्यवस्थित अध्ययन गरी जमिनको स्वामित्व सरकारसँग रहने गरी साझेदारीको मोडेल तयार गरौँ,’ उनको भनाइ थियो । 

छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग सचिव कृष्ण राउत लगायत सहभागी थिए ।  





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया