logo-img

विभाजनपछि जसपामा उपेन्द्रको एकलौटी : आफू निर्विरोध, कार्यसमिति चयनको जिम्मा पनि आफैँ लिए

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा निर्वारोध निर्वाचित भएका उपेन्द्र यादवले केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी पनि आफैँ लिएका छन् । जनकपुरमा जारी अधिवेशनबाट यादवले पदाधिकारी चयनको जिम्मा आफैँले लिएका हुन् ।

उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रीका रूपमा विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा बहुमत सांसदसहित पार्टी विभाजन भए पनि यादवले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमै रहने चाहना राखेका थिए । तर, जसपाबाट विभाजित भएको दललाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई दबाब दिएर राजीनामा गराए । 

उपेन्द्र नेतृत्वको दल केन्द्र सरकारबाट मात्रै होइन, मधेश सरकारबाट पनि बढारियो । एकपछि अर्को राजनीतिक क्षति व्यहोर्दै आएका उपेन्द्रका लागि पार्टी विभाजन र सरकारबाट बाहिरिएलगत्तै महाधिवेशन गराउन चुनौतीपूर्ण अवस्था थियो । 

सो चुनौती पार गर्दै उपेन्द्र पार्टीको निर्विरोध अध्यक्ष बने । सत्ताको आडमा आफ्नो पार्टी विभाजन भएको आरोप लगाउँदै आएका विषय उनका लागि अर्को चुनौतीको विषय भएको छ, पदाधिकारी चयनको गाँठो । 

पार्टी साँघुँरिँदै गए पनि पदाधिकारीका लागि जसपामा आकांक्षीहरूको लर्को छ । सबैलाई मिलाएर पदाधिकारी चयन गर्न सफल नभएमा असन्तुष्ट हुनेहरुले पार्टी नै छाडेर जाने खतरा छ । त्यसकारण सबैको चित्त बुझाएर लैजानुपर्ने बाध्यतामा यादव छन् ।   

अध्यक्षबाहेकका पदमा नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो । जसपा नेपालमा २१ जना पदाधिकारीसहित दुई सय एक सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । 



यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङ्देङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगरसहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए । 

एक जना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा गरी छ जनाले उम्मेदवारी दिएका थिए । दुई सय एक पदका लागि तीन सयभन्दा बढीको उम्मेदवारी परेपछि आज दिउँसोका लागि निर्वाचनको तयारी गरिएको थियो । 



तर, अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेर महाधिवेशन सम्पन्न भएको घोषणा गरियो । महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका स्थगित गरी सहमतिबाट चयन गर्ने निर्णय भएको हो । 

अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिए । उनका अनुसार अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसलाई अनुमोदन हुनेछ । 

मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने घोषणा अध्यक्ष यावदले गरेका थिए । महाधिवेशनको हलमा यादवले निर्वाचन हुने हो भने समावेशी नेतृत्व निर्वाचित हुन नसक्ने बताएका थिए । 

‘चुनाव हुने हो भने हिमाल र पहाडका एक–दुईजनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ । किनकि, पार्टीको मुख्य आधार तराई–मधेश हो । त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिंगको प्रतिनिधित्व हुनेगरी समावेशी बनाउन सक्छौँ ?’ यादवको भनाइ थियो ।

उनले चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताएका थिए । उनको प्रस्ताव थियो, ‘त्यसैले तपाईंहरू सहमत हुनुहुन्छ भने सबै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमा टुंगो लगाऔँ ।’

उनको प्रस्तावलाई महाधिवेशन हलले अनुमोदन गरेको थियो । अनि उनले एकसाथ उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जसअनुसार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । 

  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया