logo-img

नेदरल्याण्डस्‌लाई हराउँदा बंगलादेशको ‘सुपर एट’ सम्भावना कायमै

आइसिसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले सुपर एटको सम्भावना कायमै राखेको छ । बिहीबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै सम्भावना कायमै राखेको छ । समूह डीमा नेपाल पनि सहभागी रहेको छ । दक्षिण अफ्रिका यसअघि नै सुपर एटमा पुगिसकेको छ भने दोस्रो टिमबीच प्रतिस्पर्धा जारी छ ।

पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।  जवाफमा नेदरल्यान्ड्सले पुरै ओभर खेलेर ८ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सकेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशको सुरुवात खासै हुन सकेन । कप्तान नाजमुल हुसेन शान्तो दोस्रो ओभरमा मात्र १ रन बनाएर पभेलियन फर्किए । लिटन दास पनि १ रन बनाएर आउट भए ।

 त्यसपछि तान्जिद हसन र शकिब अल हसनबीच ४८ रनको साझेदारी गर्दा बंगलादेशको स्कोर ७१ पुगेको थियो । तान्जिदले २६ बलमा पाँच चौका र एक छक्काको मद्दतले ३५ रन बनाए । तौहिद हृदयको ब्याट चलेन । उनले जम्मा ९ रन जोडे । बंगलादेशले १३ औँ ओभरमा ८९ रनको स्कोरमा चौथो विकेट गुमाएको थियो ।

जारी विश्वकपमा खराब फर्मसँग संघर्ष गरिरहेका अनुभवी शाकिबले एक छेउबाट विकेट जोगाउँदै महमुदुल्लाहसँग ४१ रनको साझेदारी गर्दै स्कोर १३० पुर्‍याएका थिए । शकिबले ३८ बलमा अर्धशतक पूरा गरेका थिए भने ४६ बलमा ९ चौकाको मद्दतले ६४ रनमा नटआउट रहे । अन्तिममा जाकिर अलीले ७ बलमा १४ रनको उत्कृष्ट इनिङ खेले । नेदरल्यान्ड्सका आर्यन दत्त र पल भान मिकरेनले समान २–२ विकेट लिए ।  

लक्ष्य पछ्याउँदा नेदरल्यान्ड्सको सुरुवात पनि खास भएन र दुवै ओपनर पावरप्लेमा नै आउट भएका थिए । माइकल लेभिटले १८ रन र म्याक्स ओडाउडले १२ रनको योगदान दिए । पावरप्ले सकिएपछि नेदरल्याण्ड्सलाई १० औँ ओभरमा ६९ रनमा तेस्रो झटका लागेको थियो भने विक्रमजीत सिंह १६ बलमा २६ रन बनाएर बाहिरिए ।

सिब्रान्ड एङ्गलब्रेट र कप्तान स्कट एडवर्ड्सले स्कोर १०० भन्दा माथि पुर्‍याए । यो साझेदारी रिशाद हुसेनले तोडे । १५औँ ओभरमा १११ रनको स्कोरमा इङ्गलेब्रेट (३३) आउट भए । सोही ओभरमा बास डे लिड पनि खाता खोल्न नदिई पभेलियन फर्किए । एडवर्ड्सले २३ बलमा २५ रन बनाएर १७ औँ ओभरमा ११७ रन पुर्‍याए । सोही क्रममा लोगान भान बेक १८ औँ ओभरमा २ रन बनाएर आउट भए । यसरी नेदरल्याण्डको स्कोर ११७ रन बनाउँदा ७ विकेट गुम्न पुगेको थियो ।



अन्तिम ओभरमा टिमलाई जितका लागि ६ बलमा ३३ रन चाहिएको थियो तर ७ रन मात्रै बन्यो । टिम प्रिन्गल (१) अन्तिम बलमा रनआउट भए । त्यस्तै आर्यन दत्तले १५ रन बनाएर अविजित रहे । बंगलादेशका लागि रिशाद हुसेनले सर्वाधिक ३ विकेट लिए ।

दक्षिण अफ्रिकाले समूह डी बाट अहिलेसम्म ३ खेल खेलेको छ र सबै खेलमा जित निकाल्दै ६ अंकसहित सुपर ८ मा स्थान सुरक्षित गरेको छ । योसँगै बंगलादेश पनि ३ खेलबाट ४ अंकसहित दौडमा छ । तर, नेदरल्यान्ड्सको ३ खेलबाट २ अंक छ भने नेपालको २ खेलबाट १ अंक छ । नेदरल्यान्ड्सले आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्नुपर्नेछ जुन पहिले नै प्रतियोगिताबाट बाहिरिएको छ र नेट रन रेट सुधार गर्न ठूलो अन्तरले जित्नुपर्नेछ । यससँगै नेपालले आफ्नो अर्को दुई खेल दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नुपर्नेछ ।   



  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया