logo-img

मन्त्री तामाङको दाबी- यो वर्ष १६ लाख पर्यटक नेपाल आउने छन्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले ‘टुरिजम एक्स्पो’ ले नेपालको पर्यटन प्रवर्द्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरेका छन् । 

आज ‘नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको भन्दै त्यो लक्ष्य पूरा गर्न यो मेलाको भूमिका महत्त्वपूर्ण हुने बताए । 

उनले भने, ‘यो १६ देशको सहभागितामा सञ्चालन हुन गइरहेको यस मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण कोशे ढुङ्गाको भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु । नेपालले यस वर्ष कम्तीमा पनि १६ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । पर्यटन क्षेत्रले अहिले भोगी रहेको समस्याहरू जुन छन् त्यसलाई हल गर्नका लागि हामीले केही सुधार गर्न आवश्यक छ ।’   

नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडौं महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्ताहरूको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो । यो एक्स्पो आज र भोलि सञ्चालन हुनेछ । 

एक्सपोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढी आगन्तुकको सहभागिता रहने छ । यस्तै, एक्स्पोमा बिहार टूरिजम मलेशियाको समेत सहभागिता रहने छ । 

एक्स्पोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिकासहित एजुकेशनल पार्टनरका रूपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौं र रे जिनटा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रूपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रूपमा अटिक, डिजिटल पार्टनरका रूपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् । 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया