logo-img

दीपक कालीराजले जिते राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि

राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् । 

प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए । युवा तथा खेलकुद मन्त्रालय, परिषदको आयोजना र मिसन सञ्चार मल्टिमिडिया प्रालिको सह-आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतियोगिताको विजेता कालीराजलाई विजेताको ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरे ।

उपाध्यक्ष बस्नेतले युवा लक्षित यस्ता सृजनात्मक प्रतिस्पर्धाले देशका कुना कन्दरामा लुकेर रहेका प्रतिभाशाली युवालाई आफ्नो प्रतिभा देखाउने उपयुक्त थलो भएको र यसले युवापुस्तालाई अभिप्रेरित गर्ने बताए । मिसन सञ्चार मल्टिमिडियाका अध्यक्ष पार्वती चापागाईंले विजेतालाई नयाँ गीत रेकर्डिङको लागि सम्झौतापत्र प्रदान गरिन् ।

विजेताको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै सङ्गीत भर्नका लागि सङ्गीतकार बीपी वाग्लेलाई जिम्मेवारी दिइएको थियो ।

गायन रियालिटी सोमा १६ देखि ४० वर्ष उमेरका देशभरबाट ६५ युवाले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धी मध्येबाट २१ जना छनौट गरी फिजिकल अडिसन अर्थात् फिजिकल प्रतिस्पर्धाका लागि राजधानी काठमाडौं बोलाइएको थियो ।  

सोही २१ जना प्रतिस्पर्धी मध्येबाट शीर्ष नौ, शीर्ष छ र शीर्ष तीन गरी विजेताको टुङ्गो लगाइएको थियो । प्रतियोगितामा सङ्गीतकार बीपी वाग्ले, लोक गायिका देवी घर्तीमगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए । 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया