logo-img

सन्दीपलाई राशिद खानको विश्वकीर्तिमान बराबर गर्न मौका

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप ६ महिनापछि मैदान फर्किँदै छन् । उनले नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध खेल्दै क्रिकेटमा पुनरागमन गर्न लागेका हुन् ।

 

नेपाल र दक्षिण अफ्रिकाबीचको खेल शनिबार बिहान सवा ५ बजे सेन्ट भिन्सेन्टमा सुरु हुनेछ । सन्दीपको पुनरागमनले नेपाली टिमको बलिङ पक्ष थप सन्तुलित र बलियो देखिएको मुख्य प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहितकुमार पौडेलको विश्वास छ । 

विगतमा उनी टिममा हुँदा नेपालले बलिङको सहयोगमा खेल जितेको प्रशस्त उदाहरण छन् । सन्दीपले केही खेलमा त कीर्तिमानी प्रदर्शन नै गरे । उनीसामु टी–२० आईमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने मौका पनि छ । दक्षिण अफ्रिकाविरुद्ध सन्दीपलाई यो ढाँचामा सर्वाधिक छिटो १ सय विकेट लिने अफगानी स्टार राशिद खानको रेकर्ड बराबरी गर्ने मौका छ । 

राशिदले यो उपलब्धि ५३ खेलमा हासिल गरेका थिए । सन्दीपसामु पनि ५३ खेलमा टी–२० आईमा १ सय विकेट पूरा गर्ने मौका छ । पछिल्लो डेढ वर्षको अवधिमा उनको जीवनमा अप्रत्यासित घटना नघटेको भए सन्दीपले राशिदको यो रेकर्ड पनि तोडेका हुन्थे । उनले ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट लिने मामलामा भने राशिदको विश्वकीर्तिमान भंग गरिसकेका छन् । 



उनले ४२ ओडिआई खेलमा यो कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । राशिदलाई यो ढाँचामा १ सय विकेट लिन ४४ म्याच खेल्नु परेको थियो । हालसम्म सन्दीपले ५२ आई टी–२० र ५१ ओडिआई म्याच खेलेका छन् । 



उनले टी–२० आईमा ६.२९ को इकोनमीमा ९८ तथा ओडिआईमा ४.३४ को इकोनमीमा ११२ विकेट लिएका छन् । ओडिआईमा सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन ११ रन दिएर ६ विकेट लिनु हो । यस्तै, टी–२० आईमा उनको उत्कृष्ट स्पेल ९ रन दिएर ६ विकेट लिनु हो । 

सन्दीप नेपालका लागि दुवै प्रारूपमा सर्वाधिक विकेट लिने बलर हुन् । उनलाई तीव्र गतिका बलर करण केसीले पछ्याइरहेका छन् । उनले ५१ ओडिआईमा ७४ तथा ६८ टी–२० आईमा ९० विकेट लिएका छन् ।  
 

  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया